वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
प्रकाशित मिति
२०८३ आश्विन ९ गते, शुक्रबार १२:३६
९ असोज २०८३ काठमाडौं — लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाले केही समय फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ । वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो आउनुका साथै ल्याण्डफिल साइटमा समेत पहिरो गई लेदोसहितको माटो खसिरहेकाले फोहर व्यवस्थापनमा समस्या उत्पन्न भएको महानगरले जनाएको हो ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै वर्षाका कारण फोहर ढुवानी तथा ल्याण्डफिल साइटमा फोहर विसर्जन गर्ने कार्य प्रभावित भएको जनाएको छ ।
फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहर आफ्नै परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरले आग्रह गरेको छ । साथै सड्ने र नसड्ने फोहर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
महानगरले सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा अन्य खुला स्थानमा फोहर नफाल्न विशेष आग्रह गरेको छ । सडकमा फोहर फाल्दा आवागमन अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत समस्या हुन सक्ने महानगरले जनाएको छ ।
वर्षा र ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।







प्रतिकृया