भागेका करिब ७ हजार कैदी कारागार फर्किए, ७ हजार ६ सय बढी अझै फरार
प्रकाशित मिति
२०८२ आश्विन ६ गते, सोमबार ०१:४५
असोज ६, २०८२ काठमाडौं– ‘जेनजी’ आन्दोलनको क्रममा देशभरका कारागारमा भएको तोडफोड र आगजनीपछि भागेका हजारौं कैदीबन्दीमध्ये ७ हजार ६२७ जना अझै फरार रहेका छन्। गत भदौ २४ गते, आन्दोलन चर्किएको दिन देशभरका २८ वटा कारागार र ९ वटा सुधारगृहमा व्यापक क्षति पुगेको थियो। त्यस दिन कुल १४ हजार ५५६ कैदीबन्दी कारागार तथा सुधारगृह तोडफोड गरी भागेका थिए।
कारागार व्यवस्था विभागका अनुसार, तीमध्ये १३ हजार ५९२ जना कारागारबाट र ९६४ जना सुधारगृहबाट भागेका थिए। भागेकामध्ये हालसम्म ६ हजार ९२८ जना पुनः कारागार फर्किएका छन्, तर बाँकी ७ हजार ६२७ जना अझै सम्पर्कविहीन छन्। विभागका अनुसार, फरारमध्ये अधिकांश गम्भीर र संगठित अपराधमा संलग्न रहेका व्यक्तिहरू हुन्, जसले सुरक्षा चुनौती थपिएको संकेत गर्छ।

भाग्ने क्रममा नेपाली सेनाले चालेको गोली लागेर पाँच कैदीबन्दीको मृत्यु भएको थियो। कारागार व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाउने गरी भएको यस घटनापछि सरकार र सुरक्षा निकायलाई फरार कैदीहरूको खोजी र पुनः नियन्त्रणमा ल्याउन चुनौती थपिएको छ।

यद्यपि केही स्थानमा सुराकीको आधारमा नियन्त्रणमा लिने प्रयास भइरहे पनि सङ्गठित नेटवर्कमार्फत लुक्ने प्रयास भएकाले पुनः गिरफ्तारी कठिन भइरहेको विभागले जनाएको छ।




प्रतिकृया