नवनियुक्त मन्त्रीहरूको शपथ सारियो ३ बजे
प्रकाशित मिति
२०८२ आश्विन ६ गते, सोमबार ०१:२७
असोज ६, २०८२ काठमाडौं– नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम तय समयभन्दा एक घण्टा पछाडि सारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आग्रहमा आज दिउँसो २ बजेका लागि तय गरिएको शपथ कार्यक्रम ३ बजेका लागि सरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार शिक्षा, कानुन, कृषि, सञ्चार र स्वास्थ्य मन्त्रालयका लागि पाँच जना मन्त्रीहरूको नाम सिफारिस गरेकी थिइन्। तर, स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राविरुद्ध अख्तियारमा दर्ता भएको भ्रष्टाचारसम्बन्धी उजुरीको अनुसन्धान भइरहेकाले शपथ प्रक्रिया रोकिएको हो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार डा. मिश्राको शपथ आज हुने कि नहुनेबारे कुनै आधिकारिक जानकारी प्रधानमन्त्री कार्यालयबाट प्राप्त भइसकेको छैन। यसले गर्दा उनको नाम यथास्थितिमा ‘होल्ड’ गरिएको छ।

अन्य चार मन्त्री – महावीर पुन (शिक्षा), अनिलकुमार सिन्हा (कानुन, उद्योग वाणिज्य तथा भूमिसुधार), डा. मदन परियार (कृषि) र जगदीश खरेल (सञ्चार) – को भने आज नै शपथग्रहण हुने पक्का भएको छ।




प्रतिकृया