एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
प्रकाशित मिति
२०८३ भाद्र २० गते, शनिबार १२:३२
२० भदौ २०८३ काठमाडौं — नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालित उद्योग तथा कम्पनीहरूको वैदेशिक ऋण दायित्व एक वर्षमै १५ अर्ब ९१ करोड रुपैयाँले बढेर ७५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार अघिल्लो आर्थिक वर्षमा यस्तो ऋण ५९ अर्ब ८७ करोड रुपैयाँ थियो।

क्षेत्रगत रूपमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी ५२ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ। उत्पादनमूलक क्षेत्रमा १९ अर्ब २३ करोड, यातायात तथा भण्डारण क्षेत्रमा २ अर्ब १४ करोड रुपैयाँ ऋण रहेको प्रतिवेदनमा उल्लेख छ।
यता बैंक तथा वित्तीय संस्था तथा बीमा क्षेत्रमा रहेको वैदेशिक ऋण भने घटेर १ अर्ब ५८ करोड रुपैयाँ मा झरेको छ। ठूला पूर्वाधार आयोजना निर्माणका लागि विदेशी ऋण महत्वपूर्ण स्रोत बने पनि विदेशी मुद्रामा लिइएको ऋणका कारण विनिमय दरमा हुने उतारचढावले कम्पनीको वित्तीय जोखिम बढाउन सक्ने राष्ट्र बैंकको अध्ययनले देखाएको छ।




प्रतिकृया