• २० भदौ २०८३, शनिबार
  • ३ः३४ दिउँसो

बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित

प्रकाशित मिति

२०८३ भाद्र २० गते, शनिबार ०३:३२

२० भदौ २०८३ काठमाडौं — रसुवा बाढीको ११औँ दिन शनिबार दुई चमत्कारिक उद्धार भएका छन्। नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको हो।

National Life

विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको भग्नावशेषमा पुरिएकी चण्डिकालाई सशस्त्र प्रहरीको टोलीले ११औँ दिनमा जीवितै बाहिर निकालेको हो। उद्धारपछि उनले सुरक्षाकर्मीले दिएको पानीसमेत खाएकी छन्। उनी बोल्न सक्ने अवस्थामा रहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। त्यसपछि भग्नावशेष हटाउँदै खोजी गर्दा चण्डिका जीवितै फेला परेकी हुन्। इन्सपेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उनको उद्धार गरेको हो। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

Classic Tech Desktop

त्यसैदिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञको टोलीले उनलाई ११औँ दिनमा सुरुङबाट बाहिर निकालेको हो।

उद्धार गरिएका चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथली ब्यारेकतर्फ लगिएको छ। भदौ १० गते आएको भीषण बाढीका कारण आयोजना क्षेत्र र सुरुङ प्रभावित भएपछि उनको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी विपद् विज्ञ टोली परिचालन गरिएको थियो।

यसअघि शुक्रबार बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कबिर महर्जनलाई पनि जीवितै उद्धार गरिएको थियो।

प्रतिकृया