• ४ साउन २०८३, सोमबार
  • १:२४ बिहान

होम भिजिट एक, फाईदा अनेक

प्रकाशित मिति

२०७८ पुष ११ गते, आईतवार ०२:२३

सागर गुरागाई, २९ पुस २०७८, काठमाडौँ : सामान्यतया शिक्षक शिक्षिका विद्यार्थीको घर वा कोठामा गएर उसको पारिवारिक अवस्था, पढ्नेलेख्ने वातावरणका साथै अभिभावकहरुको केटाकेटी प्रतिको बोलीवचन अनि व्यवहार बारे जानकारी लिने काम नै होमभिजिट हो । तर पूर्व प्राथमिक तह र प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरेर होम भिजिट गर्दा सिकाई सकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको छ । एक जना विद्यार्थीको सिकाइका लागि उसको विद्यालयले राम्रो पढाउँदैमा पुग्दैन । उसको घरमा राम्रो व्यवहार हुँदैमा मात्र पनि हुँदैन । दक्ष शिक्षक मात्रले पनि पुग्दैन । त्यसका लागि यी सबै कुराको सन्तुलन आवश्यक हुन्छ । तर भन्न जति सजिलो छ यो व्यवहारमा उतार्न उतिकै चुनौतीपूर्ण छ । सिक्ने भनेको विद्यालयमा मात्र हो भन्ने परम्परागत सोचमा पछिल्लो समय विस्तारै परिवर्तन भइरहेको देखिन्छ ।


तथापि एक जना विद्यार्थीको सिकाइको अधिकांश जिम्मेवारी शिक्षक र विद्यालयकै हो भन्ने धारणा अझै बलियो छ । अभिभावकको जिम्मेवारी सबैभन्दा पहिलो हो । अनि विद्यालयको मात्र नभइ घरको वातावरणले पनि विद्यार्थीको सिकाइ प्रकया प्रभावित बन्छ भन्ने, वास्तविकता विस्तारै बुझ्न र बुझाउन थालिएको छ । यसका लागि कतिपय विद्यालयमा बारम्बार अभिभावकहरु डाकिन्छ र छलफल गरिन्छ । तर अभिभावकलाई विद्यालय डाकेर गरिने अनेकौँ छलफलभन्दा एक पटकको होम भिजिट निकै प्रभावकारी बन्ने गरेको, अनुभवीहरुको भनाइ छ । होम भिजिटको मुख्य लक्ष्य भनेको नै सम्बन्ध बनाउनु र नानीहरुले मेरो शिक्षक र बुवाआमाबीच नजिकको सम्बन्ध छ भनेर बुझून भनेर हो । बच्चाको दृष्टिकोण बुझ्न र बच्चाको व्यवहार किन यस्तो छ भनेर बुझ्न होम भिजिट जाने भएकाले होम भिजिट गर्दा हामीले जे जति कुरा देख्छौं त्यसलाई अवलोकन गर्नुपर्छ ।

Kamana Sewa

त्यसमा अनेक थरि प्रश्नहरु र टिकाटिप्पणी गर्न हुँदैन । होम भिजिट भनेको पाहुना जस्तै भएर जाने हो । पाहुनाले गर्ने जस्तै व्यवहारमा हामी बस्नुपर्छ । बच्चाको घरको वातावरण बुझन, पढ्ने कोठा कस्तो छ, पढ्न र सिक्नलाई व्यवस्थित र पर्याप्त छ कि छैन, साथीभाई कस्ता जस्ता कुरा हामीले बुझ्न खोजेको हो होम भिजिटबाट । होम भिजिट आवश्यक छ । किनकि बच्चाको घरको वातावरण कस्तो छ, उसका साथीहरु कस्ता छन् । कस्तो साथीसँग ऊ खेलिरहेको छ, उसको साथी जानबाट बञ्चित छ या राम्रो स्कुलबाट पढिरहेको छ, उसको अवस्था कस्तो छ, त्यसले गर्दा नानीहरुलाई प्रभाव पार्ने हुन्छ । त्यस्तै अभिभावकको शिक्षा कस्तो छ, बच्चाको शिक्षाको लागि अभिभावकले कत्तिको प्रयत्न गर्नुभएको छ ।

Classic Tech Desktop

बच्चाको खेल्ने पढ्ने सामग्रीहरु कस्ता छन्, बालमैत्री छन् कि छैनन् जस्ता कुराहरु अध्ययन गर्न होम भिजिट गर्नुपर्छ ।
शिक्षक र विद्यार्थीविचको खाडललाई पनि पुर्ने काम गर्छ होम भिजिटले । शिक्षकले बच्चाको घरमा गरिने व्यवहार, वातावरण, उसले खाने खाना कस्तो छ, पढ्ने कोठा कस्तो छ जस्ता कुराको अध्ययन गर्नुहुन्छ । होम भिजिटको पूर्वजानकारी गराउने र यसका फाइदाका विषयमा जानकारी गराउनुपर्छ । होम भिजिट बच्चाको विकासको लागि हो भनेर बुझाउन सक्नुपर्छ । बच्चाको घरमा गएर अभिभावकहरुले कस्तो शिक्षा खोज्नुभएको हो, उहाँहरुले बच्चालाई कसरी अगाडि बढाउने सोचिरहनुभएको छ, आफ्नो स्कुलबाट केके अपेक्षा गर्नुभएको छ, त्यो बुझ्न जरुरी छ । शिक्षक र अभिभावकबीचमा कुरा भएर मात्र बच्चाहरुमा काम गर्न सजिलो हुन्छ । विद्यार्थीले सबै कुरा शिक्षकलाई भन्न नसक्ने अवस्थामा उहाँहरुले घरमा भनेको हुन सक्नुहुन्छ । होम भिजिट जानुअघि शिक्षक आफूनै तयारी भएर जानुपर्यो । बच्चाको बानी बुझेर त्यही अनुसारको कुरा गर्न आफू मानसिक रुपमा तयारी भएर जानुपर्छ । अभिभावकको पारिवारिक अवस्था के छ ? परिवारमा कति सदस्य छन् ? भन्ने विषयमा पनि अनुसन्धान गरेर जानुपर्छ । शिक्षक, प्रिन्सिपल भनेका बच्चाका दोस्रो अभिभावक हुन् ।


होम भिजिटको योजना यसरी पनि बनाउन सकिन्छ । : शिक्षक नै अभिभावकको घरमा जानु सबैभन्दा उपयुक्त विधि हो, जुन विधिबाट अभिभावकका सरोकारका विषयमा खुलेर कुराकानी गर्न सकिन्छ साथै यसले शिक्षकलाई अभिभावकको अवस्थाबारेमा ज्ञात हुन्छ भन्ने कुरालाई बुझाउन भिजिटको महत्वबारेमा सर्वप्रथम विद्यालयका शिक्षक र कर्मचारीहरुसँग छलफल गर्ने, आवश्यक भएमा होम भिजिटबारे विशेषज्ञको सहायता लिने । (अनौपचारिक कुराकानी गर्ने सीप सिक्ने)


● अभिभावकलाई पनि होम भिजिटको औचित्यबारे बुझाउन आवश्यक छ । त्यसका लागि विद्यालयमै बोलाएर सबैलाई जानकारी दिन सकिन्छ । त्यसपछि उनीहरुको अपेक्षा अनुरुप कार्य गर्न विद्यालय शिक्षकहरुलाई पनि सहज हुन्छ । अभिभावकहरुका अपेक्षाबारेमा अध्ययन र सर्वेक्षण गर्ने । होम भिजिट गर्नका लागि बार्षिक योजना बनाउने । होम भिजिटका लागि शिक्षकहरुलाई मानसिक रुपमा तयार गराउने, शारिरीक रुपमा अघि बढाउन चाहिने स्रोत, सामग्री र तौरतरिकाबारे अनुभव आदानप्रदान गर्ने । कक्षागत रुपमा र व्यक्तिगत रुपमा विद्यार्थीहरुबाट आएका समस्याहरुबारेमा शिक्षकहरुबीच छलफल गर्ने र समस्याहरु केलाउने, समस्या केलाएपछि अभिभावकसमक्ष कसरी प्रस्तुत हुने अनि प्रत्येक अभिभावकबाट एउटै सन्देश जाने गरी तयारी गर्न । अभिभावकहरुको रोजगारीलगायत विषयमा प्रश्नहरु सोध्नुपूर्व कार्यसूची तयार गर्ने । अभिभावकको घर जानुअघि नै यति समयका लागि आउँदै छौं भन्ने जानकारी दिने । अभिभावकलाई लिखित के दिन सकिन्छ ? साथमा बोक्ने र दिने ।


होम भिजिटमा के गर्नु हुन्न ? होम भिजिटमा जाने शिक्षक जाशुसी गर्ने मनसायले जानु हुँदैन । अभिभावकसँग रुखो व्यवहार गर्नु कदापि हुँदैन । शिक्षक भद्धा वा असजिलो किसिमका पहिरनमा जाँदा अभिभावकलाई खुलेर आफ्नो कुरा राख्न असहज हुन्छ । शिक्षकले होम भिजिट गरेर ठूलै गुण लगाए जस्तो भाव प्रकट गर्नु हुँदैन । अभिभावकको व्यक्तिगत विवरणहरु नबताएको खण्डमा वा सोधेर पनि भन्न नचाहेको बुझिएमा फेरि सोध्न हुन्न । विद्यार्थीका कमजोरीबारे चर्चा गर्नु हुँदैन । सुधार्नु पर्ने कुराहरुलाई नकारात्मक रुपमा त गर्नुहुन्न । भुलेर पनि कुनै विद्यार्थीलाई कुनै अर्को विद्यार्थीसँग तुलना गर्नु हुँदैन । घरको, कोठाको अनि त्यहाँ भएका अन्य वस्तुहरुबारे अनावश्यक टिप्पणी गर्नु हुँदैन । कसैका कुनै कुरा चित्त नबुझे त्यहाँ भनिहाल्नु हुँदैन । अभिभावक भेट्दा, फलानो अभिभावककोमा यस्तो, तपाईंकोमा चाहिँ यस्तो भनेर तुलना गर्ने कुरा पनि गर्नु हुन्न ।


होम भिजिटमा नगरी नुहने कुराहरु : होम भिजिट गर्दा शिक्षक टोली मिलनसार, भद्र र धैर्यवान बन्नुपर्छ । विद्यार्थीको पढ्ने कोठा भए गएर हेर्नुपर्छ । नभए उसले गृहकार्य गर्ने वा बसेर पढ्ने ठाउँको बारेमा जानकारी लिनुपर्छ । विद्यालय, कक्षा, सहपाठीहरुसँगको व्यवहारका अलावा विद्यार्थीको राम्रो पक्ष, सुधार्नु पर्ने पक्षबारेमा बताउनुपर्छ । विद्याथीको पढाइ र भविष्यका लागि अभिभावकले खेल्न सकिने भूमिका र तरिका सिकाउनुपर्छ । उदाहरण दिएर अभिभावकलाई उत्साहित बनाउनुपर्छ । अभिभावकहरुलाई आफ्ना बालबालिकाको सिकाइमा सहभागी भइरहन अनुरोध गर्नु पर्छ । नियमितरुपमा विद्यालयमा आइ बालबालिकाको पढाइ लगायत अन्य विषयमा जानकारीहरु गराइ रहन र विद्यालयको उसको तनावबारे थाहा पाउन अनुरोध गर्नुपर्छ । कथम्कदाचित विद्यालय वा त्यहाँका शिक्षकहरुबारे कुनै गुनासाहरु भए नहिच्किचाइ सम्बन्धित शिक्षक वा विद्यालयका प्रधानाध्यापकलाई भन्न उत्प्रेरित गर्नुपर्छ । अन्त्यमा होम भिजिटको लागि समय उपलब्ध गराएकोमा अभिभावकप्रति आभार व्यक्त गर्नुपर्छ ।


आजकल धेरै बच्चाहरु एकल परिवारमा बस्ने हुँदा त्यस्तो बच्चाहरु अलिकति सामाजिक नहुने हुन्छन् । एक्लै बाबाआमासँग बसेको बच्चा एक्लै बस्ने, साथीहरुसँग नखेल्ने हुन्छन् । त्यसका लागि पनि परिवारहरुले बच्चालाई बाहिर घुमाउन लाने गर्नुपर्छ । कसैले बच्चाकै अगाडि धुम्रपान, मध्यपान गर्ने गरेको रहेछ भने बच्चाको अगाडि त्यस्तो व्यवहार नगर्न सचेत बनाउन सकिन्छ । कतिपय कुरा बच्चाले घरबाटै अप्रत्यक्ष रुपमा सिकेको हुन्छ, जुन कुरा अभिभावकलाई पनि थाहा नहुन सक्छ । शिक्षक घरमा गइदिँदा मेरो शिक्षक पनि मेरो परिवारकै हिस्सा, साथी जस्तै नजिकैको हो रहेछ भन्ने अनुभव बच्चाले गर्ने गर्छ । त्यसैले बालबालिकाहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन होमभिजिटको ठुलो महत्व छ । हिजोआज खुलेको मन्टेश्वरी स्कुल र पूर्व प्राथमिक एवं प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुलाई सकारात्मक होमभिजिटले व्यवहारिक रुपमा पनि सहजता प्रदान गर्छ ।

प्रतिकृया