आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण
प्रकाशित मिति
२०७६ असार ७ गते, शनिबार ०८:०३
सरकारले बालबालिकामा हुने कुपोषण रोक्न ठूलो लगानी गरेको छ तर सम्बद्ध व्यक्तिमा त्यो पुग्न नसक्दा लगानी प्रभावकारी बन्न सकेको छैन । वीरगन्ज महानगर २३ प्रसौनीकी डेढ वर्षीया बालिका कुपोषित भेटिनु त्यसैको उदाहरण हो ।

आमा गुमाएकी सुन्दरमाला दासमा चरम कुपोषण रहेको पाइएको छ । बुबाले आमाको हत्या गरेर फरार भएपछि दासले पोसिलो आहार पाइनन् । सुन्दरमालाका ३३ वर्षीय बुबा पन्नालालले ३० वर्षीया पत्नी अञ्जुलाई वैशाख ६ गते कुटपिट गरी हत्या गरेका थिए ।

घटनापछि फरार उनी प्रहरीको खोजी सूचीमा छन्। ७० वर्षीया हजुरआमा शोशिला दासको पालनपोषणमा हुर्किरहेकी सुन्दरमालाको तौल साढे ५ किलो मात्र छ । औसतमा डेढवर्षका बालबालिकाको तौल ११ किलो वा त्यसभन्दा बढी हुन्छ । अति कमजोर सुन्दरमाला हिँडडुल परको कुरा, राम्ररी बस्नसमेत सक्दिनन् । उनको टाउको ठूलो छ भने शरीर पातलो छ। करङ र शरीरका अन्य हड्डी प्रस्ट देखिन्छन् ।
दासका बाबु बेपत्ता भएपछि परिवारको बिजोग छ। पन्नालालका सुन्दरमालाबाहेक थप ३ छोराछोरी छन् । १० वर्षीय छोरा रञ्जन, पाँच वर्षीया छोरी रुक्मिणी र ३ वर्षीय छोरा साजनसहितको परिवारको बोझ एकल तथा वृद्धा शोशिलाका काँधमा छ।खेतीपाती नभएको तथा आम्दानीका स्रोत पनि नभएकाले उनलाई घर चलाउन धौधौ छ। छुट्टिई बसेका जेठा छोरा देवशरणले केही मद्दत गरे पनि उनकै ९ जनाको ठूलो परिवार छ ।
ज्यालामजदुरी गर्दै आएका उनलाई पनि दुई घर एकसाथ चलाउन हम्मेहम्मे छ । नातिनीले पोसिलो खाना र आमाको दूध खान नपाएकाले कुपोषित भएको शोशिलाले बताइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिकृया