पश्चिमी वायुको प्रभाव: आज पनि देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना
प्रकाशित मिति
२०८३ जेष्ठ १७ गते, आईतवार १०:४६
१७ जेठ २०८३ काठमाडौं – नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यूनचापीय रेखाको प्रभाव कायम रहेकाले देशका विभिन्न भू–भागमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।




प्रतिकृया