देशभर जनैपूर्णिमा पर्व मनाइँदै, जनै तथा रक्षासूत्र धारण गर्नेको भीड
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०८:१७
१२ भदौ २०८३ काठमाडौं – देशभर आज नवयज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा वैदिक सनातन धर्मावलम्बी बिहानै नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा गई स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन् ।
धार्मिक परम्पराअनुसार गुरु–पुरोहितले वैदिक मन्त्रोच्चारणसहित मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ । मन्त्रिएको यज्ञोपवीत तथा रक्षासूत्र धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्यलगायत तागाधारी समुदायले नयाँ जनै (यज्ञोपवीत) फेर्ने विधान छ । पूर्णिमाको बिहान स्नान गरेपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी विधिपूर्वक नयाँ जनै धारण गरिन्छ ।

कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ ।
जनैपूर्णिमाको अवसरमा काठमाडौं उपत्यकाका पशुपतिनाथ, वसन्तपुरस्थित अशोकविनायकलगायत देशभरका मठमन्दिर तथा नदी किनारमा भक्तजनको भीड लागेको छ ।
यस पर्वमा ११ थरिका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर तयार पारिएको क्वाँटी खाने परम्परा पनि छ । क्वाँटी खानाले शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने, पेट सफा हुने तथा वर्षायाममा शरीरमा जमेको चिसो हटाएर ताप सञ्चार गर्ने धार्मिक तथा आयुर्वेदिक मान्यता छ ।
तराई क्षेत्रमा भने जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर पर्व मनाउने चलन छ । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता बढाउने सामाजिक विश्वास छ । पछिल्लो समय राखी बाँध्ने परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।
जनैपूर्णिमाको अवसरमा काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधामका धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा विशेष मेला लाग्ने गर्छ ।




प्रतिकृया