विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०८:०७
काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् ।
मन्त्रीको निर्देशनअनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ । स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनिएको छ ।

त्यस्तै, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न विश्वविद्यालयहरूलाई आग्रह गरिएको छ ।

विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ । प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता तथा सहजीकरणका लागि आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ ।
मन्त्री पोखरेलले वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै निर्देशनहरू तत्काल कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरेका छन् । विपद्को कठिन समयमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिन उनले आग्रह गरेका छन् ।




प्रतिकृया