आज निर्जला एकादशीमा तुलसीको बिउ राख्दै
प्रकाशित मिति
२०८३ असार ११ गते, बिहीबार ०८:०४
११ असार २०८३ काठमाडौं – वैदिक सनातन धर्मावलम्बीहरूले आज निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै घरघरमा औषधीय गुणले भरिपूर्ण तुलसीको बिउ राखेका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको बिउ राख्ने परम्परा रहिआएको छ।
आज राखिएको तुलसीको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिने धार्मिक परम्परा छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको चार महिनाको अवधिमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा–आराधना गरिन्छ। यस अवधिलाई चतुर्मास पनि भनिन्छ।

धार्मिक तथा आयुर्वेदिक दृष्टिले तुलसीलाई अत्यन्त महत्वपूर्ण बिरुवाका रूपमा लिइन्छ। आयुर्वेदमा तुलसी रोपिएको स्थानलाई पवित्र मानिएको छ भने यसले वातावरण शुद्ध राख्न र प्रदूषण नियन्त्रण गर्न सहयोग गर्ने विश्वास छ। वैज्ञानिक अध्ययनहरूले पनि तुलसीमा वातावरणीय स्वच्छता कायम गर्न सहयोगी गुण रहेको देखाएका छन्।

सनातन परम्पराअनुसार जीवनको अन्तिम अवस्थामा पुगेका व्यक्तिलाई तुलसी मिश्रित जल पिलाउने चलन छ। यसले आत्माको शुद्धीकरण भई उत्तम गति प्राप्त हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
तुलसीको पूजा हुने घरलाई तीर्थसरह मानिने धार्मिक मान्यता छ। तुलसीपत्रले भगवान् विष्णु र शिवको पूजा गर्ने भक्तले मोक्ष प्राप्त गर्ने तथा पुनर्जन्मको चक्रबाट मुक्ति पाउने विश्वास विभिन्न धार्मिक ग्रन्थ र पुराणहरूमा उल्लेख गरिएको छ।
निर्जला एकादशीसँगै तुलसी पूजा र चतुर्मासको तयारी प्रारम्भ हुने भएकाले यो पर्व धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले विशेष महत्वको मानिन्छ।




प्रतिकृया