• २५ साउन २०८३, सोमबार
  • १०:५२ बिहान

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै दर्शनका लागि पुगे श्रद्धालु

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ०९:१९

साउन महिनाको अन्तिम चौथो सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि वर्षा भइरहे पनि श्रद्धालुहरू वर्षाको प्रवाह नगरी पूजा–आराधना तथा पशुपतिनाथको दर्शनका लागि मन्दिर क्षेत्रमा पुगेका छन्।

साउनको सोमबार भक्तजनको चापलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन मन्दिर परिसरमा आवश्यक व्यवस्थासमेत मिलाइएको छ।

Kamana Sewa

साउनको अन्तिम सोमबार पारेर बोलबम यात्रामा सहभागी हुने भक्तजनहरू वाग्मती नदी किनारस्थित सुन्दरीजलमा समेत बिहानैदेखि जम्मा भएका छन्। प्रत्येक वर्ष साउनका सोमबार सुन्दरीजलमा भेला भई स्नान गरेर शुद्ध कपडा लगाई वाग्मतीको जल पशुपतिनाथमा चढाउने धार्मिक परम्परा रहिआएको छ।

Classic Tech Desktop

बोलबम यात्रामा सहभागी भक्तजन सुन्दरीजलबाट जल बोकेर पशुपतिनाथ पुग्ने गरेका छन्। यस वर्ष पनि बोलबम यात्रीका लागि जल चढाउन पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बोलबम यात्रीका लागि जल चढाउन पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ढोकाबाट प्रवेश तथा जल चढाउने व्यवस्था मिलाइएको छ। भक्तजनले बासुकी मन्दिर हुँदै उत्तरढोकाबाट पशुपतिनाथमा जल चढाउन सक्नेछन्।

साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथसहित काठमाडौंका विभिन्न शिवालयमा समेत बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिएको छ। वर्षाका बाबजुद शिवभक्तहरू पूजा, आराधना र जल चढाउन लामबद्ध भएका छन्।

प्रतिकृया