• ११ असोज २०८३, आइतबार
  • ९ः४१ बिहान

आजदेखि सोह्र श्राद्ध सुरु

प्रकाशित मिति

२०८३ आश्विन ११ गते, आईतवार ०९:२४

११ असोज २०८३ काठमाडौं — प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध भनिन्छ । यसलाई अपर वा प्रेत पक्षका नामले समेत चिनिन्छ ।

National Life

वैदिक सनातन हिन्दू परम्पराअनुसार ठूला चाडपर्व, यज्ञयागादि तथा शुभकार्य गर्नुअघि पितृलाई श्रद्धा र भक्तिपूर्वक सम्झने गरिन्छ । पितृ पक्षमा पितृले आफ्ना सन्तानबाट तर्पण तथा श्राद्धको अपेक्षा गर्ने धार्मिक मान्यता रहेको छ ।

सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृऋणबाट मुक्त भइने धार्मिक विश्वास छ । धर्मशास्त्रविद्का अनुसार जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्र श्राद्ध गर्नुपर्ने शास्त्रीय परम्परा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रोकिएको श्राद्ध गर्ने पनि शास्त्रीय विकल्प

कारणवश आफ्ना पितृको तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रमा विभिन्न विकल्प दिइएको छ । आपत् धर्मअनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था रहेको छ ।

त्यस अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने उल्लेख छ । कार्तिक कृष्ण औँसीमा समेत सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने धर्मसिन्धुमा उल्लेख गरिएको छ ।

त्यस्तै, आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेको दिन पनि रोकिएको श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको छ ।

यी सबै अवसरमा पनि श्राद्ध गर्न नसकिएमा आफैँ वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने विकल्प रहेको धर्मशास्त्रमा उल्लेख छ । यस्तो विधि १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रविद्का अनुसार सोह्र श्राद्ध पितृको तिथिका दिन अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय विधान छ । पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । त्यसैले दसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो ।

प्रतिकृया