• १० असोज २०८३, शनिबार
  • ११ः५१ बिहान

सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक

प्रकाशित मिति

२०८३ आश्विन १० गते, शनिबार ११:३८

१० असोज २०८३ काठमाडौं — सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा लगातार वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँच जिल्लामा सार्वजनिक सवारी साधनको आवागमनमा रोक लगाइएको छ।

National Life

डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र बाजुरा जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बिहानदेखि भोलि बिहानसम्म लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका हुन्।

भारी वर्षाको पूर्वानुमान, पछिल्लो मौसमी अवस्था तथा निरन्तर भइरहेको वर्षाका कारण सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको सम्बन्धित प्रशासन कार्यालयहरूले जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बाजुरा जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लगातार वर्षा भइरहेको र पछिल्लो मौसमी अपडेटमा जिल्ला अति जोखिमयुक्त क्षेत्रमा परेकाले जिल्लाभर सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी डारेन्द्र निरौलाका अनुसार असोज ११ गते बिहान ७ बजेसम्म आकस्मिक अवस्थाबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको छ।

लगातारको वर्षापछि सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै बाजुरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको छ। विपद् प्रतिकार्यका लागि कर्मचारी, स्वयंसेवक, उद्धार टोली तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्न नौवटै स्थानीय तहलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ।

डडेल्धुरामा आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म, दार्चुलामा आजदेखि भोलि बिहान ६ बजेसम्म तथा डोटी र बैतडीमा आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रशासन कार्यालयहरूले आकस्मिक तथा अत्यावश्यक अवस्थामा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेका छन्। साथै अनावश्यक यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिकृया