एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रकाशित मिति
२०८३ आश्विन १० गते, शनिबार ०१:०४
१० असोज २०८३ काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई)’ सम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै मन्त्री खनालले विकासशील मुलुकहरूको वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु आपत्काल र ऋणको दबाबका बीच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए।
परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको जिडिआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गर्दै आएको प्रयासको प्रशंसा गरे।
मन्त्री खनालले पाँच वर्षको अवधिमा जिडिआई विकासशील विश्वभर साझेदारी, स्रोत परिचालन, ज्ञान आदानप्रदान र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विस्तार भएको बताए।
गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकास वित्त, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्रमा जिडिआईको प्राथमिकताले ‘ग्लोबल साउथ’ का धेरै प्राथमिकतालाई सम्बोधन गर्ने उनको भनाइ थियो।
नेपाल जिडिआईको ‘ग्रुप अफ फ्रेन्ड्स’ मा सहभागी भइसकेको जानकारी दिँदै मन्त्री खनालले व्यावहारिक सहकार्य र दक्षिण–दक्षिण साझेदारीमा जिडिआईले दिएको जोडलाई नेपालले महत्व दिएको बताए।
नेपालले विकासका आकाङ्क्षा अघि बढाउँदै गर्दा गरिबी न्यूनीकरण, कृषि तथा खाद्य सुरक्षा, नवीकरणीय ऊर्जा, उत्थानशील पूर्वाधार, विपद् तयारी, डिजिटल रूपान्तरण र मानव स्रोत विकासका क्षेत्रमा जिडिआई सहकार्यको महत्वपूर्ण सम्भावना रहेको उनले बताए।
उत्पादन क्षमता अभिवृद्धि, ज्ञान तथा प्रविधि हस्तान्तरण, सीप विकास तथा आफ्नै क्षमतामार्फत अवसर विस्तार गर्न सहयोग पुर्याउने सहकार्यलाई नेपालले महत्व दिएको मन्त्री खनालको भनाइ थियो।







प्रतिकृया