• ११ असोज २०८३, आइतबार
  • १०ः१६ बिहान

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी

प्रकाशित मिति

२०८३ आश्विन ११ गते, आईतवार ०९:३५

११ असोज २०८३ काठमाडौं — देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । साथै देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

National Life

हाल देशभर अधिकांश बदली रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्नेछ ।

सुदूरपश्चिमका तराई भू–भागका धेरै स्थान तथा लुम्बिनीका तराई भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकीका तराई भू–भागका थोरै स्थान तथा कोशी र मधेशका तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि वर्षाको सम्भावना

आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै, सुदूरपश्चिमका तराईका केही स्थान, बागमती, गण्डकी र लुम्बिनीका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया