बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
प्रकाशित मिति
२०८३ आश्विन ११ गते, आईतवार १०:०९
११ असोज २०८३ काठमाडौं — लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडकमा लेदो र ढुंगा खस्दा देशका विभिन्न जिल्लाका दर्जनौँ सडकखण्ड अवरुद्ध भएका छन् । आइतबार बिहान ७ बजेसम्मको विवरणअनुसार अधिकांश सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकखण्ड एकतर्फी सञ्चालनमा आएका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मुख्य सडकहरू वर्षाका कारण प्रभावित भएका छन् ।
कोशी प्रदेशमा सडक अवरुद्ध
सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित जिल्लाभित्रका अन्य सडक बाढी–पहिरोको जोखिममा छन् । भोजपुरमा मध्यपहाडी लोकमार्गसहितका भित्री सडक प्रभावित भएका छन् ।
इलाममा जिल्लाका अधिकांश सडकमा आवागमन प्रभावित भएको छ भने मेची राजमार्ग तथा मेची करिडोरअन्तर्गतका सडकमा सवारी आवागमन बन्द गरिएको छ ।
खोटाङमा मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड पहिरोका कारण प्रभावित छन् । हलेसी तुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्यपहाडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
उदयपुरको कटारी–घुर्मी क्षेत्रमा सिद्धिचरण लोकमार्ग प्रभावित भएको छ । पाँचथरमा तमोर करिडोर बाढीका कारण अवरुद्ध छ भने मध्यपहाडी लोकमार्गमा समेत पहिरो गएको छ ।
बागमतीमा मुख्य सडक प्रभावित
ललितपुरको कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेमा बीपी राजमार्गका विभिन्न स्थान बाढी–पहिरोको जोखिममा छन् । रसुवाका मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नुवाकोटको टोखा–छहरे तथा पासाङ ल्हामु सडकखण्ड प्रभावित भएका छन् ।
धादिङमा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ । बेनीघाट रोराङ, कृष्णभीर, टिङ्ग्राङखानी, जोगीघाट तथा गजुरी क्षेत्रमा सडक प्रभावित भएका छन् । पृथ्वी राजमार्गका केही खण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
मकवानपुरमा कान्तिराजमार्ग तथा भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्ड प्रभावित भएको छ । सिन्धुलीमा बीपी राजमार्गका विभिन्न खण्ड जोखिममा छन् ।
दोलखाको कुडुले क्षेत्रमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सिन्धुपाल्चोकका विभिन्न सडक बाढी–पहिरोका कारण प्रभावित छन् । चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डसमेत प्रभावित भएको छ ।
गण्डकीमा पनि आवागमन प्रभावित
मनाङमा बेँसीसहर–खाङसार सडकमा रातिको समयमा आवागमन रोकिएको छ । नासो गाउँपालिका–३ खोत्रो क्षेत्रमा चामे–बेँसीसहर सडक पहिरोका कारण अवरुद्ध छ ।
कास्की, मुस्ताङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ । मुस्ताङको जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको छ । बागलुङमा मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
तनहुँको पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१३ घाँसीकुवा र म्याग्दे गाउँपालिका–६ मोरीभीर क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लुम्बिनीका विभिन्न सडकमा पहिरो
रोल्पामा मदन भण्डारी राजमार्ग तथा घोराही–थवाङ–रुकुम शहीदमार्ग प्रभावित भएका छन् । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
गुल्मीमा मदन भण्डारी राजमार्ग, रिडी–भुवनपाटीबजार सडक तथा कालीगण्डकी करिडोरका विभिन्न खण्ड अवरुद्ध भएका छन् ।
दाङमा तुलसीपुर–घोराही सडकखण्डसहित राप्ती राजमार्गका तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके तथा घोराही–होलेरी सडकखण्ड प्रभावित भएका छन् ।
पाल्पामा कालीगण्डकी करिडोर तथा सिद्धार्थ राजमार्ग पहिरो र अविरल वर्षाका कारण अवरुद्ध भएका छन् ।
कर्णालीमा पनि सडक अवरुद्ध
कालिकोटको शुभकालिका गाउँपालिका–१ मा कर्णाली राजमार्ग सडकखण्ड अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण बाढी, पहिरो, लेदो तथा ढुंगा खस्ने क्रम जारी रहेकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त सडकखण्डमा नजान सम्बन्धित निकायले आग्रह गरेको छ ।








प्रतिकृया