• १७ असोज २०८३, शनिबार
  • ६ः१७ बेलुका

आवश्यकताभन्दा बढी ग्यास नथुपार्न उपभोक्तालाई आग्रह

प्रकाशित मिति

२०८३ श्रावण २४ गते, आईतवार ०७:१६

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी एलपी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।

National Life

भारतबाट एलपी ग्यासको आयात सहज भइरहेको र उद्योगहरूले सिलिन्डर रिफिल गरी निरन्तर बजारमा पठाइरहेकाले अनावश्यक रूपमा ग्यास खरिद नगर्न संघले आग्रह गरेको हो।

संघका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको ग्यास अभावको समस्या तत्काल समाधान हुने उल्लेख गरिएको छ। आगामी दिनमा समेत आपूर्तिमा समस्या नहुने भएकाले ग्यास अभाव हुने सम्भावना नरहेको संघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको छ। निगमका अनुसार पछिल्लो समय ग्यास आयात करिब १५ प्रतिशतले बढेको छ।

निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको छ। यही आधारमा चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो।

बजारको मागअनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेको संघले जनाएको छ। साथै, घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न बिक्रेताहरूलाई समेत संघले आग्रह गरेको छ।

प्रतिकृया