• २५ साउन २०८३, सोमबार
  • १२:१६ बेलुका

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ११:२५

२५ साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । पार्टीको आन्तरिक सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले तीन दिने भेला आयोजना गर्न लागेको हो ।

भेलामा सहभागिताका लागि सातै प्रदेशका सभापति, ७७ वटै जिल्ला सभापति र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिका सभापतिहरूलाई पत्राचार गरिएको छ ।

Kamana Sewa

भेला प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रदेश, जिल्ला र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई आफू सहभागी हुन तथा आफ्नो क्षेत्रमा पार्टीका विभिन्न निकायको नेतृत्व गरिरहेका र यसअघि नेतृत्व गरिसकेकाहरूलाई समेत सहभागी गराउन आग्रह गरिएको छ ।

Classic Tech Desktop

पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्ताको राय लिने उद्देश्यले भेला आयोजना गरिएको विश्वकर्माले बताए । उनका अनुसार भेलामा महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री, सांसद र प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीसमेत सहभागी हुनेछन् ।

त्यसैगरी महानगरपालिका, नगरपालिका तथा गाउँपालिका समितिका सभापतिहरूलाई समेत भेलामा सहभागी हुने वातावरण बनाउन सम्बन्धित क्षेत्रका पार्टी नेतृत्वलाई आग्रह गरिएको छ ।

भेलामा पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण, आगामी महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया