आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी
प्रकाशित मिति
२०८३ श्रावण २१ गते, बिहीबार ०९:२३
२१ साउन २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
विभागले बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।







प्रतिकृया