भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
प्रकाशित मिति
२०८३ आश्विन १४ गते, बुधबार १०:२१
१४ असोज २०८३ काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि पुनर्निर्माण तथा जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न गहिरो चासो देखाएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
महासभाका क्रममा भएका साइडलाइन तथा द्विपक्षीय भेटवार्तामा भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे विभिन्न मुलुक तथा निकायले गम्भीर चासो र ऐक्यबद्धता जनाएको उनले बताए। ‘भेटघाटका क्रममा भोटेकोशी बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको चासो र नेपालमा परेको दुःखप्रति सबैले ऐक्यबद्धता जनाउनुभएको थियो,’ उनले भने, ‘नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौं भन्ने प्रश्न र प्रसंगहरू औपचारिक तथा अनौपचारिक भेटवार्तामा उठेका थिए।’
बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न विभिन्न राष्ट्र तथा निकायले रुचि देखाएको उल्लेख गर्दै मन्त्री खनालले नेपालले भोगिरहेको जलवायु संकटप्रति समेत विश्व समुदाय गम्भीर रहेको बताए।
उनका अनुसार नेपाल जलवायु संकटका कारण उत्पन्न प्रकोपको जोखिममा रहेकाले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको पाइएको छ।
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन तथा नेपाली प्रतिनिधिमण्डलका उच्चस्तरीय भेटवार्ताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हित र जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउन सहयोग पुगेको मन्त्री खनालले बताए।







प्रतिकृया