नेपाली चिया निर्यातको अवरोध हट्यो, ‘मोफा मित्र’ एप जेठ २२ मा सार्वजनिक हुने
प्रकाशित मिति
२०८३ जेष्ठ ८ गते, शुक्रबार ०४:१२
८ जेठ २०८३ काठमाडौं – परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण प्रभावित बनेको चिया निकासी कूटनीतिक पहलपछि सहज भएको बताए ।

उनका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेको हो । त्यसपछि नेपाली चियाको निर्यात प्रक्रिया पुनः सहज बनेको मन्त्रालयको दाबी छ ।

यसैबीच नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौंमा आयोजना हुने तय भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । मन्त्रालयका अनुसार नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने तयारी गरेको छ ।

कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार कार्य पनि जारी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ, जसमा पछिल्लो दुई सातामा मात्रै ७१ जना रहेका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियाको जेलमा रहेका २९ जना नेपालीलाई कानुनी सहायता उपलब्ध गराउने पहल भइरहेको छ भने म्यानमारमा कैदमा रहेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक प्रयास जारी छ ।
विदेशमा रहेका नेपालीलाई परामर्श र सहयोग उपलब्ध गराउने उद्देश्यसहित मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । त्यस्तै व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई थप विस्तार गरिएको जानकारी पनि मन्त्रालयले दिएको छ ।
राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको भन्दै असार अन्तिम सातादेखि पूर्ण रूपमा लागू गरिने जनाएको छ । संक्रमणकालीन अवस्थालाई सहज बनाउन पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठभित्रै आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।




प्रतिकृया