पुस मसान्तसम्म विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो
प्रकाशित मिति
२०८२ माघ १९ गते, सोमबार ०९:११
१९ माघ,२०८२ काठमाडौं –चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म नेपालमा विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति ६ महिनामै २१.१ प्रतिशतले वृद्धि भएको हो।
अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २२ अर्ब ४७ करोड पुगेको छ, जुन असार मसान्तको तुलनामा १५.२ प्रतिशतले बढी हो। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा २८ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो, जुन १९.४ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति ३५८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.२ प्रतिशतले वृद्धि भएको छ।

२०८२ साल पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ। विदेशी विनिमय सञ्चितिको पर्याप्तता सूचकले पनि मुलुकको आर्थिक अवस्था मजबुत रहेको संकेत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनासम्मको आयातका आधारमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५३.१ प्रतिशत, कुल आयातसँग १५०.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४०.५ प्रतिशत पुगेको छ। गत असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।
अर्थविद्हरूका अनुसार रेमिट्यान्स आप्रवाह वृद्धि, आयात नियन्त्रण तथा पर्यटन आयमा सुधारका कारण विदेशी विनिमय सञ्चिति मजबुत बन्दै गएको हो।




प्रतिकृया