शान्ति, समृद्धि र सुशासनका लागि राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न प्रधानमन्त्री कार्कीको आग्रह
प्रकाशित मिति
२०८२ कार्तिक ३ गते, सोमबार ०७:३१
कात्तिक ३, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न सम्पूर्ण नेपालीलाई राष्ट्रिय सङ्कल्पका साथ एकजुट भएर अघि बढ्न आह्वान गरेकी छन्। तिहार, म्हं पूजा, नेपाल संवत् ११४६, छठ लगायतका पर्वहरूको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिएकी हुन्।
“कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो,” सन्देशमा उल्लेख छ, “त्यसैले कुनै भ्रममा नपरी निराशा र अन्धकारको अन्त्य गर्दै हामी सबै मिलेर नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ अघि बढ्नुपर्छ।”

प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञा दोहोर्याउँदै त्यसका लागि राजनीतिक संवाद र सुरक्षाको अवस्था सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गरेकी छन्। सन्देशमा भनिएको छ, “फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्ने हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौं।”

प्रधानमन्त्री कार्कीले भदौको जेनजी आन्दोलनले जनताले देखाएको भरोसा र सुम्पिएको जिम्मेवारीप्रति सरकार गम्भीर रहेको स्पष्ट गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणमा प्रतिबद्धता व्यक्त गरेकी छन्।
सन्देशको अन्त्यमा तिहार र दीपावलीको उज्यालोसँगै आशा, विश्वास र समृद्धिका प्रतीक पर्वहरूले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयलाई प्रतिविम्बित गर्ने उल्लेख गरिएको छ।




प्रतिकृया