मनसुन समाप्ति चरणमा, पश्चिमी वायुको प्रभाव बढ्दो
प्रकाशित मिति
२०८२ आश्विन २३ गते, बिहीबार ०८:५१
असोज २३, २०८२ काठमाडौं– देशभर मनसुनी प्रणाली कमजोर बन्दै गएको छ भने पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सम्भवतः एक–दुई दिनमै मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ। यसले गण्डकी र कर्णाली प्रदेशमा मध्यम खालको वर्षा गराएको छ। मौसमविद्हरूका अनुसार यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दैछ र चिसोको महसुस पनि बढ्दो छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहने विभागले जानकारी दिएको छ। साथै, पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए। आज रातिसमेत कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम प्रायः सफा रहने प्रक्षेपण गरिएको छ। यी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

मौसममा आएको यो परिवर्तनसँगै जाडो महसुस बढ्न थालेको छ। विभागले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सुझाव दिएको छ।




प्रतिकृया