एकादशीका दिन पनि दशैंको टीका–जमरा लगाउने क्रम जारी
प्रकाशित मिति
२०८२ आश्विन १७ गते, शुक्रबार ०९:२०
काठमाडौं, असोज १७ – दशैंको विजयादशमी बितिसकेको भए पनि आज आश्विन शुक्ल एकादशीका दिन पनि नेपालीहरूले टीका र जमरा लगाउने क्रम जारी राखेका छन्। नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा रहेको छ। टाढा रहेका आफन्तजनलाई टीका लगाइदिने परम्परा कायम राख्न यो समयसीमा लम्ब्याइएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराईका अनुसार, “पूर्वी र मध्य नेपालमा पूर्णिमासम्म टीका लगाउने चलन छ भने पश्चिम नेपालमा विजयादशमीको भोलिपल्टसम्म मात्र टीका ग्रहण गर्ने प्रचलन रहेको छ।” उनले विभिन्न भौगोलिक तथा सांस्कृतिक परिवेश अनुसार फरक–फरक परम्परा चल्नुलाई सामान्य मान्नुपर्ने बताए।

यसैबीच, आज आश्विन शुक्ल एकादशी पापाङ्कुशा एकादशी का रूपमा मनाइँदैछ। धार्मिक विश्वास अनुसार, आजको दिन व्रत बसेमा विगतमा जानी–नजानी गरिएका पापहरूमा अंकुश लाग्छ र मोक्ष प्राप्तिको मार्ग खुल्छ।





प्रतिकृया