असोज १७ देखि २० गतेसम्म राति सवारी सञ्चालनमा रोक
प्रकाशित मिति
२०८२ आश्विन १७ गते, शुक्रबार ०६:१३
असोज १७, २०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी असोज १७ देखि २० गतेसम्म सिन्धुपाल्चोक लगायत देशका धेरै भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि सुरक्षा सतर्कता स्वरूप राति सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ७:०० बजेबाट बिहान ५:०० बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य र सहायक सडकमा सवारी आवागमन निषेध गर्ने निर्णय गरेको हो।
दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी भने सञ्चालनमा रहने छन्। बैठकले वर्षाका कारण बाढी, पहिरो, डुवान र चट्याङको उच्च जोखिम रहेकाले जिल्लाभित्रका सबै सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था र नागरिक समाजसँग समन्वय गरी पूर्वतयारी र प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ।
सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्युत मजगैयाले बताए अनुसार, विपद् जोखिम क्षेत्रका नदी किनार तथा पहिरो संभावित स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइनेछ। नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ र अन्य संघसंस्थाहरूलाई पूर्णरूपमा परिचालित गर्ने। चौतारा अस्पताललाई उद्धार र उपचारमा तत्पर रहन निर्देशन। दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्टहरू २४ सै घण्टा तयारी अवस्थामा राख्ने। राजमार्ग तथा सहायक सडकहरू अवरुद्ध भएमा तत्काल सम्बन्धित निकायसँग समन्वय गरी सुचारु गरिने।
स्थानीय तहहरूलाई LEOC को पूर्ण परिचालन, सूचना प्रवाह, स्वयमसेवक परिचालन र स्रोतसाधन तयारीमा राख्न आग्रह। जिल्ला प्रशासनले मौसमको अवस्था हेरेर आवश्यकता अनुसार राजमार्ग थप समयका लागि बन्द गर्न सकिने जानकारी दिएको छ। यात्रु र स्थानीयवासीहरूलाई सुरक्षित यात्रा गर्न र आधिकारिक सूचना अनुसार चल्न अनुरोध गरिएको छ।






प्रतिकृया