• २ असोज २०८३, शुक्रबार
  • १०ः१२ बिहान

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता

प्रकाशित मिति

२०८३ आश्विन २ गते, शुक्रबार ०९:४७

२ असोज २०८३ काठमाडौं — नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याएको हो।

National Life

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएका नयाँ नोट चलनचल्तीमा ल्याइएको हो।

नयाँ ५० रुपैयाँको नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नोटको बाँयातर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापमा ‘५०’ अंकसमेत अंकित गरिएको छ। नोटको तल्लो खण्डमा वि.सं. २०८२ को सिरिज उल्लेख गरिएको छ भने नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटमा १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ। उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको पछाडिको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ भने त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार २२ गते सिरिज २०१९ का ५० रुपैयाँ दरका नोट संकेत नम्बर ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने सूचना जारी गरिएको थियो। तर, ज ८९ ०००००१ देखि ट २३ ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया