रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
प्रकाशित मिति
२०८३ आश्विन १ गते, बिहीबार ०१:३३
१ असोज २०८३ काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन्।बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले बाढीबाट भएको क्षतिले पछिल्लो २०/२५ वर्षदेखि अघि बढाइएको नेपालको समृद्धिको अवधारणामा नै धक्का पुगेको बताएका हुन्।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जलवायु परिवर्तनका कारण नेपालले यस्तो क्षति बेहोर्नुपरेको सरकारको निष्कर्ष रहेको र यसबारे थप अध्ययन भइरहेको मन्त्री खनालले जानकारी दिए।
मन्त्री खनालका अनुसार नेपालको समृद्धिको विषय नदी करिडोर, विशेषगरी हिमालयन नदी करिडोरसँग जोडिएको छ। उत्तर–दक्षिणका प्रमुख सडक तथा दुई छिमेकी मुलुकबीच निर्माण हुने कनेक्टिभिटीका पूर्वाधारसमेत नदी करिडोरसँग जोडिएको उनले बताए।
पछिल्ला ३०/४० वर्षमा नेपालको बस्ती तथा बजार विकास पनि नदी करिडोरका बेसिन आसपास केन्द्रित भएको उनको भनाइ छ। नेपालको समृद्धिसँग जोडिएको जलविद्युत् पनि नदीमै आधारित रहेकाले विद्युत् उत्पादन, प्रयोग तथा निर्यातको योजना हिमालयन नदी करिडोरसँग जोडिएको उनले उल्लेख गरे।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता अमेरिका जाने तयारीमा रहेको सन्दर्भमा संसदीय समितिले जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञसँग छलफल गरेको हो। बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको थियो।
मन्त्री खनालले महासभामा नेपालको सहभागिता अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हुने बताए।हिमालय क्षेत्रमा नेपाल तथा विदेशमा भएका अध्ययन तथा अनुसन्धानलाई एकीकृत गरी त्यसका आधारमा नेपालको स्पष्ट राष्ट्रिय धारणा निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।






प्रतिकृया