दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
प्रकाशित मिति
२०८३ आश्विन १ गते, बिहीबार १२:१९
१ असोज २०८३ काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले करिब २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक बजेटको ९.४१ प्रतिशत हो।
सरकारले सबैभन्दा बढी चालु शीर्षकमा खर्च गरेको छ। चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्म १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको ९.६ प्रतिशत हो।
पुँजीगत खर्च भने निकै न्यून देखिएको छ। पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा दुई महिनामा ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो वार्षिक विनियोजनको १.७८ प्रतिशत हो।
यस्तै, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा भदौ मसान्तसम्म ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको १६.५९ प्रतिशत हो। सरकारको खर्चको तुलनामा आम्दानी भने कम देखिएको छ। भदौ मसान्तसम्म कुल राजस्व संकलन १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक राजस्व लक्ष्यको ११.५८ प्रतिशत हो। यस अवधिमा सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७२ करोड रुपैयाँ बढी भएको छ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो। गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ उठेको छ। यो वार्षिक लक्ष्यको ६.९ प्रतिशत हो।
यस्तै, सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ यस्तो अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यो वार्षिक लक्ष्यको ८.९६ प्रतिशत हो।






प्रतिकृया