रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
प्रकाशित मिति
२०८३ आश्विन २ गते, शुक्रबार १०:३७
काठमाडौं । नेपाल वायुसेवा निगमले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग प्रदान गरेको छ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको निगमले जनाएको छ।
सहयोग रकम निगममा कार्यरत सम्पूर्ण कर्मचारीको तलबबाट कट्टा गरी सङ्कलन गरिएको हो। निगमका कर्मचारीले आफ्नो पारिश्रमिकबाट योगदान गर्दै विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा सहयोग रकम बराबरको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गणेश’लाई हस्तान्तरण गरेका हुन्।
निगमले प्राकृतिक विपद्को कठिन अवस्थामा राज्यको उद्धार तथा राहत अभियानमा सहयोग पुर्याउनु संस्थागत सामाजिक उत्तरदायित्व भएको जनाएको छ। कर्मचारीको तलबबाट सङ्कलित रकमले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने निगमको विश्वास छ।






प्रतिकृया