प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
प्रकाशित मिति
२०८३ आश्विन २ गते, शुक्रबार १०:३१
२ असोज २०८३ काठमाडौं — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा २२ करोड ७५ लाख ३८ हजार ३३१ रुपैयाँ थपिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार उक्त रकम थपिएको हो।
बिहीबार साँझसम्म कोषका विभिन्न नौवटा बैंकमा १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, कोषका दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ।
कार्यालयका अनुसार सबै खातामा गरी कोषमा १४ अर्ब ५६ करोड ३८ लाख ७ हजार ५५६ रुपैयाँ बराबरको मौज्दात रहेको छ। कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।
सरकारले रसुवाका बाढीप्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराइनेछ।






प्रतिकृया