प्रधानमन्त्री ओली : सुशासनको महाअभियानमार्फत समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने
प्रकाशित मिति
२०८२ श्रावण २७ गते, मंगलवार ०२:३६
श्रावण २७,२०८२ काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सतर्कता केन्द्रको २४औं स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तअनुसार भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीविना नागरिकलाई सहज सेवा दिनु सरकारको दायित्व भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएको भन्दै राज्यका सबै निकाय त्यसमा उत्तिकै सक्रिय हुनुपर्नेमा जोड दिए। भ्रष्ट आचरणमा संलग्न व्यक्ति पदमा रहे पनि सम्मान नपाउने चेतावनी दिँदै उनले भने, “विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्। कमजोरी मेरो भए पनि खुलस्त भन्नुस्।”

उनले मातहतका कर्मचारीलाई पनि अनुशासनमा रहन आग्रह गर्दै “अरुको आँखाबाट मात्र होइन, आफ्नो आँखाबाट पनि नझर्नुस्” भने। संयुक्त राष्ट्रसंघको ‘नो वन लेफ्ट बिहाइन्ड’ अवधारणा उद्धृत गर्दै उनले सबैको सम्मानित र सुरक्षित जीवनका लागि दृढ संकल्प गर्नुपर्ने बताए। असन्तुष्टि भड्काएर अराजकता मच्याउने प्रयासबाट सचेत रहन आग्रह गर्दै ओलीले पथभ्रष्टलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
“प्राकृतिक रूपमा उर्बर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन,” उनले भने, “अब मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन सतर्कता केन्द्रले सक्रिय भूमिका निर्वाह गर्नेछ।”




प्रतिकृया