प्रधानमन्त्री ओली आज किन जाँदै छन् तुर्कमेनिस्तान ?
प्रकाशित मिति
२०८२ श्रावण १८ गते, आईतवार १०:०८
श्रावण १८, २०८२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) तुर्कमेनिस्तान प्रस्थान गर्दैछन्। उनी तुर्कमेनिस्तानको अवाजा सहरमा साउन २० देखि २३ गतेसम्म आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन्।

सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरो (ग्लोबल कोअर्डिनेशन ब्युरो) का अध्यक्षका रूपमा सम्बोधन गर्नेछन्। साथै, उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्ने र अन्य विविध कार्यक्रमहरूमा पनि सहभागिता जनाउने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरूको टोली पनि तुर्कमेनिस्तान जाँदैछ। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।




प्रतिकृया