• 2:42 pm

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार १०:४६

पुष २६, २०८१ काठमाडौँ: काठमाडौँको टोखा नगरपालिका ९ लक्ष्मीनगरबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा नुवाकोटको शिवपुरी गाउँपालिका ८ घर भई काठमाडौँको स्वयम्भु बस्ने २७ वर्षीय सुभाष तामाङ र धादिङको थाक्रे गाउँपालिका ८ का ३० वर्षीय संजय तामाङ रहेका छन् ।

बास्तविक नम्बर बागमती प्रदेश ०२-०२६ प ०३३७ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२२ प ६३९२ राखि सुभाषले चलाइरहेको अवस्था फेला पारी सोही मोटरसाइकलमा पछाडि सवार संजयलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल बझाङ घर भएका विजयराज उपाध्यायले गत मंसिर ४ गते काठमाडौँको किर्तीपुरबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त किर्तीपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिनुभयो ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता राउतले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

प्रतिकृया