• 1:35 am

रुकुमकोटमा नेपाल टेलिकमले एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने

प्रकाशित मिति

December 25, 2023

पुस ९, २०८० काठमाडौँ: नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ । सो कुरा आज प्रेस विज्ञप्ति मार्फत नेपाल टेलिकमले जनाएको हो । हिजो (२०८० पुस ८ गते) देखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब अन्तिम प्राविधिक परीक्षण पश्चात छिट्टै ग्राहकहरुमा समेत सेवाको सुरुवात गरिने बताएको छ ।

यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको छ । अब रुकुमकोटमा एनटी फाइबर सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने छ । हाल रुकुमकोटमा रहेका करिव दुई सय सेवाग्राहीलाई पनि एफटीटीएच प्रविधिमा रुपान्तरण गरी थप ग्राहकलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराइने बताएको छ ।

यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ ।

नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

प्रतिकृया