• 4:08 am

इजरायलको आक्रमणमा राष्ट्रसंघका १४२ कर्मचारीको मृत्यु

प्रकाशित मिति

December 25, 2023

पुस ९, २०८० काठमाडौँ: संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीको लागि राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)ले गाजामा आफ्ना १४२ कर्मचारीको ज्यान गएको बताएको छ ।

गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा बमबारी थालेको थियो । त्यसयता जारी आक्रमणमा गाजापट्टीमा आफ्ना १४२ कर्मचारीको मृत्यु भएको यूएनआरडब्ल्यूएले जनाएको हो ।

“हाम्रो टोलीले अत्यावश्यकतामा परेका मानिसलाई मद्दत गर्न काम गरिरहेका छन् । गाजामा मारिएका १४२ भन्दा बढी सहकर्मीको मृत्युमा हामी स्तब्ध भएका छौँ । उनीहरुको परिवारप्रति हाम्रो समवेदना छ,” राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थी एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

इजरायली आक्रमणमा हालसम्म २० हजार ४०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १ हजार १३९ रहेको अलजजिराले उल्लेख गरेको छ । आइतबार मात्रै माघाजी शरणार्थी शिविरमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनी मारिएका छन् । शरणार्थी शिविरमै आक्रमण भएकाे भन्दै यसलाई प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले नरसंहार भनेको छ ।

प्रतिकृया