• ४ साउन २०८३, सोमबार
  • २:३१ बिहान

सभामुखका लागि सत्ता गठबन्धनबाट देवराज घिमिरेकाे उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ०१:३९

४ माघ, २०७९, काठमाडौँ: प्रतिनिधिसभाकाे सभामुखका लागि सत्ता गठबन्धनकाे तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले केहीबेरअघि मात्र उम्मेदवारी दर्ता गराएका हुन्। सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको हाे।


उनकाे प्रस्तावकमा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ रहेका छन् भने समर्थकमा उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र हितराज पाण्डे रहेका छन्। वि.सं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए। उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

Kamana Sewa

घिमिरेले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए। उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए। घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य छन्। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ। सत्ता गठबन्धनकाे तर्फबाट एमालेका घिमिरेले उम्मेदवारी दर्ता गरे पनि सरकारलाई समर्थन गरी प्रतिपक्षमा रहेकाे नेपाली कांग्रेसबाट भने उम्मेदवारी दर्ता भएकाे छैन।

Classic Tech Desktop

मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुँदैछ। मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ। सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधिसभा बैठकमा हुनेछ। प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।


संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ। उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो।

प्रतिकृया