• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

एनसीआईटीका विद्यार्थीले तयार पारेको ‘कलेज टिफिन’ एप सार्वजनिक

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ०१:३३

४ माघ, २०७९, काठमाडौँ: नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एन सी आइ टि) मा अध्यनरत विद्यार्थीले कलेज टिफिन नामक एप सार्वजनिक गरका छन् । मंगलबार क्यम्पस प्राङ्गणमा एक कार्यक्रम गर्दै एप सार्वजनिक गरिएको हो । क्यान्टिन तथा वरिपरिका रेस्टुरेन्टमा खाजा खाने समयमा हुने अत्याधिक भीडको समस्यालाई मध्यनजर गर्दै एप तयार पारेको कलेज टिफिनका संस्थापक अर्जुन घिमिरेले बताए ।


“क्याम्पसमा हुँदा हामीलाई खाजा खान ४० मिनेटको समय छुट्याइएको हुन्छ,” उनले भने, “क्यान्टिनमा हुने भीडले गर्दा न आफूले भनेको समयमा खाजा खान पाइन्छ न त समयको बचत नै हुन्छ । त्यो बीचको समयलाई खेर जान नदिन के गर्ने भन्ने सोच्दा ‘कलेज टिफिन’को अवधारणा आएको हो ।”

Kamana Sewa

घिमिरेका अनुसार यो एप क्याम्पस नजिकका रेस्टुरेन्ट वा क्यान्टिन तथा विद्यार्थीले प्रयोग गर्नका लागि तयार पारिएको हो । यो एपमा क्याम्पस नजिकका क्याटिन वा रेस्टुरेन्ट लिस्टिङ गरिएको हुन्छ । विद्यार्थीले खाजा खाने समयअघि एपबाट नजिकको रेस्टुरेन्ट वा क्यान्टिनमा त्यहाँ उपलब्ध हुने खाजा प्रि-अर्डर गर्न सक्छन् । जुन होटेल, रेस्टुरेन्ट वा क्यान्टिनबाट अर्डर गर्न लागेको हो त्यहाँ नोटिफिकेसन आउँछ ।

Classic Tech Desktop

नोटिफिकसेन आइसकेपछि होटेलले खाजा तयार हुन लाग्ने समयको मेसज नोटिफिकेसन मार्फत पठाउँछन् । यति गरेपछि होटेलमा खाजा तयार हुन थाल्छ । खाजा तयार भइसक्यो भने उक्त विद्यार्थीलाई पुनः खाजा तयार भएको नोटिफिकेसन जान्छ । त्यसपछि विद्यार्थी उक्त होटेल, रेस्टुरेन्ट वा क्यान्टिनमा गएर खाजा खान सक्छन् । खाजा अर्डर गर्ने व्यक्ति त्यही नै हो भन्ने कुरा त्यहाँ हुने ओटीपी कोडले पुस्टि गर्ने एपका डेभलपर सरोज दाहाल बताउँछन् । “अर्डर गरेर भुक्तानी गर्दा विद्यार्थीलाई चार डिजिटको ओटीपी कोड आउँछ,” एपको प्राविधिक पक्षबारे जानकारी दिँदै दाहालले भने, “त्यही ओटीपी कोडका आधारमा रेस्टुरेन्टले अर्डर गर्ने विद्यार्थी पहिचान गर्न सक्छ ।” त्यस्तै केहीगरि अर्डर क्यान्सिल गर्‍यो भने पैसा तत्कालै रिफन्ड हुने उनको भनाइ छ ।


‘हाम्रो आफ्नै अनुभवको कारण यो कन्सेप्ट ल्याएका हौं,” कलेज टिफिनका प्रमुख कार्यकारी अधिृकत विवेक ढकाल सुनाउँछन्, “कलेजले खाजा खानका लागि ४० मिनेट ब्रेक दिएको हुन्छ । सबै साथीहरूलाई खाजा बनाउन होटल/क्यान्टिनलाई समय लाग्छ । उता कक्षा सुरु भइसकेको हुन्छ । ढिलो गएपछि सर/म्यामहरुले कराउनु हुन्छ । यो समस्याको कसरी समाधान गर्न सकिन्छ भनेर हामीले कलेज टिफिन ल्यायौं ।”


सीईओ ढकालका अनुसार केही साथीहरूको आफ्नै स्टार्टअप बिजनेस पनि गरिरहेका छन् । नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले नयाँ व्यवसाय सुरु गरेको उनीहरूको भनाइ छ । संस्थापक घिमिरे कलेज टिफिन एप बनाउन ८ महिना समय लागेको बताउँछन् ।


“हामीले पकेट खर्च कटाएर यो एपमा खर्च गरेका छौं,” यसमा लागेको समय र खर्चबारे जानकारी दिँदै सीएमओ तथा एक्जुकेटिभ हेड सुसन चापागाईँ भन्छन्, “एक लाखको हाराहारीमा खर्च भएको छ । यसलाई हामी आफ्नो क्षेत्रबाट अगाडि बढाउने प्रयत्न गर्नेछौं ।”


अहिले तत्कालका लागि यो एप सबैले प्रयोग गर्न पाउने छैनन् । कलेज टिफिन टिमका अनुसार यो एप विद्यार्थीको लागि मात्र बनाइएको हो । अहिले एनसीआईटी कलेजमा मात्र प्रयोग गरेर सफल भएपछि अन्य कलेजमा पनि लागू गर्ने उनीहरूको योजना छ । यस एपमा एनसीआईटी कलेज आसपासका पाँच ओटा रेस्टुरेन्टलाई समावेश गरिएको छ । यो एप २/३ वर्षभित्र आम सर्वसाधारणको लागि खुल्ला गर्ने उनीहरूको योजना छ ।


रेस्टुरेन्टबाट आउने कमिसनलाई दनीहरूले आम्दानीको मोडेल बनाएका छन् । “पछि होटेलहरूलाई फिचर गरेर पनि विज्ञापन मोडेलबाट आम्दानी गर्ने योजना छ,” सीईओ विवेक ढकाल भन्छन् ।


विभिन्न वर्षमा अध्यनरत विद्यार्थीले संयुक्त रूपमा तयार पारेको एपले भविष्यमा सफलता पाउने एनसीआईटीका प्राध्यानाध्यापक निरञ्जन ककुरेलेको विश्वास छ । “हाम्रा विद्यार्थी भाइबहिनीले आफूले भोगेका समस्यालाई समाधान गर्न जुन यो एप विकास गरेका छन् । त्यसले उनीहरूको समस्या समाधान गर्ने मात्र नभइ यो परियोजना व्यापारका रूपमा अगाडि बढाउन सकिने कुरामा म विश्वस्त छु,” उनले भने । त्यस्तै यसमा व्यवसाय अध्ययन गरेका विद्यार्थीको पनि सहभागिता भएको भए कम्पनीले राम्रो व्यापार गर्न सक्ने उनको अपेक्षा छ ।


यस परियोजनामा अर्जुन घिमिरे संस्थापक तथा प्रमुख प्राविधिक अधिकृत, विवेक ढकाल सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, आयुषा श्रेष्ठ सहसंस्थापक तथा सीओओ, प्रिन्स कुशवाहा डिजिटल मार्केटिङ हेड, सरोज दाहाल डेभलपमेन्ट हेड, सुसन अधिकारी सोसल मिडिया लिड र सुसन चापागाईँ सीएमओ तथा एक्जुकेटिभ हेडका रूपमा सक्रिय छन् । एप प्रयोग गर्न प्लेस्टारमा गइ कलेज टिफिन सर्च गरेर वा यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।

प्रतिकृया