प्रभु लाइफ छैठौं वर्षमा प्रवेश, लाखौ बीमितहरुको मन जित्न सफल
प्रकाशित मिति
२०७९ मंसिर २८ गते, बुधबार ११:२२
२८ मंसिर २०७९, काठमाडौँ: प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ५ वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमा व्यवसाय सञ्चालन अनुमति पाइ विधिवत रुपमा २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।
कम्पनीले जीवन बीमा व्यवसाय शुभारम्भ गरेदेखि अहिलेसम्म ६ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । बीमित सँग ६ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क उठाउदा जीवन बीमा कोषमा भने तीन अर्ब ४२ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । महाविपत्ती जगेडा कोषमा भने तीन करोड ८४ लाख रुपैयाँ छ ।
प्रभुले तीन लाख ६२ हजार बीमा पोलिसी जारी गरिसकेको छ । बीमितहरुले ७६ करोड ७८ लाख रुपैयाँको दाबी भुक्तानी पाइसकेका छन् । बीमितहरुले प्रतिहजार ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर पाएका छन् ।
कम्पनीले स्थापनाको तीन वर्षमै सर्वसाधाणका लागि आइपिओ जारी गरेर नियामकीय पूँजी जुटाउन सफल भएको थियो । कम्पनीले २०७७ मंसिर २९ गते सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दा माग भन्दा साढे चार गुणा बढि आवेदन परेको थियो । आइपिओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब छ भने जगेडा कोषमा ५२ करोड ७५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कम्पनीले अहिलेसम्म मुनाफालाई जगेडा कोषमै जम्मा गरेर लाभांश वितरण गरेको छैन ।
प्रभु समुहको प्रवर्द्धनमा स्थापित प्रभु लाइफले छोटो समयमै आफ्नो ब्राण्ड स्थापित गर्न सफल भएको छ । कम्पनीले आफ्नो ब्राण्डलाई एकल हिसावले अगाडी बढाउन चाहे पनि नेपाल बीमा प्राधिकरणको क्यापिटल प्लानका कारण मर्जरको बाटो रोज्न बाध्य भएको छ ।
प्रभुले महालक्ष्मी लाइफ सँग मर्जरको सहमति गरेको छ । दुबै कम्पनीले मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाइरहेका छन् । यदि प्राधिकरणले मानेको भए प्रभु समुहले हकप्रद शेयर मार्फत पूँजी जुटाउने योजना बनाएको थियो । प्राधिकरण नमाने पछि महालक्ष्मी लाइफ सँग मर्जर गरेर ५ अर्ब पुर्याउदैछ ।
विश्वास सुरक्षा समृद्धि निरन्तर अगाडी भन्ने नाराका साथ जीवन बीमा व्यवसाय शुभारम्भ गरेको प्रभुले बजारमा छुट्टै छाप बसाल्न सफल भएको छ । वार्षिकोत्सवको अवसरमा प्रभु लाइफले सबै ग्राहक, बीमा अभिकर्ता, नियमनकारी निकाय, शेयरधनीहरु तथा शुभचिन्तकहरुमा विश्वास र निरन्तर प्रोत्साहनका लागि अनुरोध गर्नुका साथै शुभकामना व्यक्त गरेको छ ।
प्रतिकृया