प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर
प्रकाशित मिति
२०७९ मंसिर २६ गते, सोमबार ०२:२६

२६ मंसिर २०७९, काठमाडौँ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत मतदान भएकामा पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१ दशमलव ३५ प्रतिशत मतदान भएकोमा पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको छ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१ दशमलव ३६ प्रतिशत मतदान भएकोमा चार दशमलव शून्य सात प्रतिशत मत बदर भएको छ । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएकोमा ६.५५ प्रतिशत मत बदर भएको छ।
प्रदेशसभातर्फ प्रत्यक्षमा मनाङको प्रदेशसभा २ मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फको विजयीहरुको अन्तिम घोषणा मङ्गलबार गर्ने जनाएको छ।
प्रतिकृया