• १३:२१ २०८० चैत्र १६ गते
  • 1:21 pm

‘आगामी चुनावमा मासुभात, रक्सी र पेट्रोलमा नबिक्नुहोला, विकास र समृद्धिसँग आफ्नो मतदान साट्नुहोला’ : सफलता बोगटी

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ११:३९

Safalta

नुवाकोटको लिखुख घर भएकी सफलता बोगटी आगमी मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा प्रतिनिधि सभामा नुवाकोटको क्षेत्र नं. १ बाट स्वतन्त्रको तर्फबाट आफ्नो उम्मेदवारी दिएकी छिन् । उनले हाम्रो नेपाली पार्टीसँग चुनावी तालमेल गरेर लौरो चिन्ह लिएकी छिन् । उनको बारेमा भन्नुपर्दा उनले International Relation and Diplomacy मा स्नातकोत्तर सम्म अध्ययन गरेकी छिन् भने विगतमा विभिन्न संस्थामा आबद्ध रहेर राजनीति तथा समाजसेवामा सक्रिय रहेकी थिइन् । यो भन्दा पहिले उनी नेपाली कांग्रेसमा आबद्ध भएर राजनीति गरेकी थिइन् भने विद्यार्थी राजनीति गर्दा क्याम्पस स्तरको नेविसंघको अध्यक्ष समेत भएकी थिइन् । स्थानीय निर्वाचनमा लिखु गाउँपालिकाबाट उपाध्यक्षको लागि दाबी गरेकी थिइन् । त्यस्तै गरी उनी नेपाल मानव अधिकार संगठनको जिल्ला कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरेकी थिइन् । उनको चुनावी एजेण्डा, रणनीति र जितेपछि कसरी काम गर्ने आदि सेरोफेरोमा रहेर मातृभूमिन्यूजका लागि प्रधान सम्पादक सुभाष कुँवर र सम्पादक मनोजराज रेग्मीसँग गरेको प्रत्यक्ष अन्तर्वार्ताको सम्पादित अंश ।


देशको राष्ट्रिय राजनीतिलाई कसरी लिनुभएको छ ?

वर्तमान राजनीतीलाई हेर्ने भन्ने कुरामा नेपाल एउटा विकासोन्मुख मुलुक हो । नेपालको राजनीतिमा धेरै खालको उथलपुथल आइरहेको छ । नेपाल जस्तो देशलाई एमसीसी, एचपीपी, इण्डो प्यासेफिक रणनीति जस्ता बीआरआईहरुले पनि असर पारेको छ । यसका कारण नेपालको राजनीति जटील अवस्थामा छ । यसका लागि नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने आवश्यकता छ ।

तपाई प्रतिनिधी सभाको सदस्यमा उठदै हुनुहुन्छ । नेपाललाई अग्रगामी दिशा तिर उन्मुख गराउन तपाई सँग के कस्ता कार्यदिशाहरु छन् ?


मैले प्रतिनिधी सभा सदस्य उमेदवारी दिदै गर्दा खेरी यत्तिकै स्वतन्त्रको लहर आयो, युवा पुस्ताको लहर आयो भनेर दिएको होइन । मैले एउटा योजना बनाएर आएको हो । हामी जस्ता युवाहरुले यो देशको नेतृत्व लिनुपर्छ भनेर म योजना सहित आएको छु । यस हिसाबले म प्रतिनिधि सभाको सदस्य उम्मेदवार हुँदा भोलि विजय भए पछि गर्ने कामहरूको तयारीका साथ आएको छु । त्यसमा मेरा तीनवटा योजनाहरु बनाएको छु । एउटा लोकल योजना, दोश्रो राष्ट्रिय योजना र तेश्रो अन्तर्राष्ट्रिय योजना छ । लोकल योजनामा Local Economic Growth Center छ । अनि MPI Multidimenstional Poverty Index छ, जुन बहुआयामीक गरिबीका सुचकाङ्क भनिन्छ । ती बहुआयामी गरीबी वर्गको सुचकाङ्कमा ५० Indicator छ ।

स्थानीय स्तरका जनताहरुको माग पुरा गरी दिएर उनीहरुलाई गरिबबाट मुक्त गराउन सकिन्छ । एमपीएको सूचकांकले गरीब भएको विभिन्न शर्तहरु राखेको छ जसमा जुन व्यक्तीले दिनमा २०० लिटर पनि पानी प्रयोग गर्दैन, दिनको आधा किलो फलफूल खादैन, दिनमा एक लिटर दूध खादैन, आफ्नो जीवनको १४ वर्ष समय स्कूल वा कलेजमा विताएको हुदैन, वर्षमा २ वटा फरक देश भ्रमण गर्दैन, वर्षमा ६ चोटी हेलिकप्टर चढ्दैन, जसको परिवारमा पाँच जना अट्ने एउटा कार छैन, ती व्यक्तिहरु गरीब हो भनेको छ । यस किसिमको ५० वटा सूचकांकहरु छन् जुन संयुक्त राष्ट्र संघको MPI Indicator मा समावेश गरेको छ । यसलाई लागु गराउन संसद्मा मेरो पहिलो माग हुनेछ ।


स्थानीय स्तरका महिलाहरुको दिनचर्या अहिलेको अवस्थामा हेर्ने हो भने सामान्य तरिकाले जीवन बितिरहेको छ । जस्तै वस्तु धुने, गोबर फाल्ने, भकारो सोहोर्ने, घाँस काट्ने, बच्चाका लुगा धुने, दिउँसो खेतको डल्ला फोर्ने त्यत्तिकैमा जिन्दगी बितीरहेको छ । आमाले गाउँका महिला दिदिबहिनीहरु, आमा भाउजुहरुलाई जीवन स्तर उच्च स्तरको बनाउनको लागि प्रविधिमैत्री तरिकाले महिलाहरुको जीवनस्तर सुधार्नुपर्दछ । जस्तो गोवर सोर्ने मेसिन आएको छ, यसको प्रयोग गर्ने, दुध दुहुने मेशिन प्रयोग गर्ने, घाँस काट्ने मेशिन आइसकेको छ । हामीले स्थानीय स्तरका जनताहरुलाई ती दिने, अनि उनीहरुले सामान्य कुरामा समय बर्बाद गर्नुपर्दैन । अनि उनीहरुले प्रविधिमैत्री तरिकाले जीवन निर्वाह गर्नुहुनेछ र उहाँहरुको जीवनयापन पनि सहज हुनेछ । जस्तो गाउँमा १५ घरको सामूहिक Local Level Growth Economic Center मा सहभागी हुने परिवारलाई सामूहिक रुपमा स्थानीय सरकारसँग नै लुगा धुने मेशिन दिने र वासिङ मेशिनबाट १५ घरको सामूहिक लुगा धुने गर्दा उहाँहरु ढाड दुख्ने र कम्मर दुख्ने विभिन्न समस्याहरुबाट मुक्त हुन्छ । राष्ट्रिय स्तरमा Inheritance Law भन्ने छ, यसले कुनै पनि व्यक्तिको सम्पत्ति व्यक्तिको अधिनमा नहुने, त्यो सम्पत्ति राज्यको नै सम्पत्तिमा आउने मुआब्जा दिएर । अनि राज्यले मास उत्पादनमा जोड दिने, त्यस किसिमको योजनाहरु छन् । राष्ट्रिय स्तरमा विशाल फार्मिङ गर्ने, विशाल प्रशोधन केन्द्र राज्यको नियन्त्रणबाट संचालन गर्ने खालको छ र अन्तर्राष्ट्रिय एजेण्डामा अहिले हामी परनिर्भर बढी भैरहेको अवस्था छ । आत्मनिर्भर ६० प्रतिशत, अन्तर्निभर ३० प्रतिशत र परनिर्भर १० प्रतिशत हुने गरी अन्र्तराष्ट्रिय स्तरको सम्बन्ध बढाउने गर्नुपर्दछ ।


२०७४ अघि तपाई पनि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो र नेविसंघबाट विद्यार्थी राजनीति गर्नुभएको थियो । अहिले तपाई कुन पार्टीबाट चुनावी मैदानमा होमिनु भएको छ ?

मेरो राजनितीक शुरुवात नेपाली काङ्ग्रेसबाट नै भएको हो । २०७४ अगाडि भन्दा अगाडि विशेष गरेर । अहिले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई सुरक्षित गर्नका लागि दल दर्ता गर्नुपर्छ । हामीले निर्वाचन आयोगले दिएको समय अवधिमा आफ्नो चिन्हलाई व्यापक रुपमा प्रचार प्रसार गर्न कठिन हुने, हाम्रो भौगोलिक हिसावले धेरै दुर्गम ठाउँ पनि छ, धेरै क्षेत्रलाई समेट्नुपर्दछ । जनतामाझ चिनाउन पनि असहज हुने भएकोले चिन्ह चिनाउन सहज हुन्छ भनेर हाम्रो नेपाली पार्टीले लौरो चिन्न दर्ता गर्नुभयो र त्यसमा चुनावी तालमेल गरेर लौरो चिन्ह लिएर अगाडि आएको छु । मैले लौरो चिन्हबाट उम्मेदवारी दिएको हो ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको अवस्थामा लोकतन्त्र संकटमा प-यो, संविधान संकटमा प-यो, यो अवस्थामा कांग्रेसले नै नेतृत्व गर्नुपर्दछ भनेर प्रजातन्त्रवादीहरु भन्ने गर्दछन् । यसमा तपाईको के भनाई छ ?

काङ्ग्रेसले अहिले नेतृत्व गरिरहेको छ । बहुमत नआए पनि कांग्रेस सरकारमा छ । काङ्ग्रेस आउँदैमा नागरिकता विधेयक पास हुन्छ भन्ने होइन, पहिले चाहेको भए हुन्थ्यो । अहिले चुनावलाई प्रभावित गर्ने गरि जनताको सेन्टीमेन्ट लिनको लागि मात्र चालेको कदम हो । यसमा जनताका लागि काङग्रेस हुँदा हुन्छ र एमाले हुँदा हुदैन भन्नु गलत हो ।


सबै नेताहरु सत्तामा नपुग्दा सम्म अनेकौं वाचाबन्धन र प्रतिबद्धता गर्दछन्, तर सत्तामा पुगेपछि सबै विर्षिन्छन् । तपाई पनि त्यही श्रेणीमा पर्नुभएको छैन भनेर जनतलाई कसरी विश्वास दिलाउनुहुन्छ ?

अरुको कुरा मलाई भनेर हुँदैन, अरुको स्वभाव र मेरो स्वभाव फरक छ । अरुले जे गर्दछन् मैले त्यही गर्दछु भन्ने होइन । अरु फरक तरिकाले र फरक उद्देश्यले आउनुभयो । मैले राजनीतिलाई पेशा, व्यवसाय बनाउन राजनीतिमा लागेको होइन । १, २ जना व्यक्तिमात्र अगाडि बढ्ने होइन कि समग्र जनतालाई नै अगाडि बढाउनुपर्दछ । देशका हरेक नागरिकहरुको जीवनशैली, जीवनपद्धति उच्च स्तरको बनाउनुपर्दछ । तर अहिले हाम्रो नेपालमा हेर्ने हो भने सीमित वर्गहरुको मात्र जीवनस्तर र जीवनशैली उच्चस्तर तथा राम्रो भएको छ । सीमित व्यक्तिहरुको मात्र क्लास ग्रोथ भैरहेको छ । म क्लास ग्रोथ भन्दा पनि मास ग्रोथ विकास गर्नुपर्दछ भन्ने कुरामा विश्वास गर्दछु । देश र नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने र देशमा बस्ने हरेक नागरिक समान अधिकार पाउनको लागि उनीहरुको आवाज लिएर आएको छु । हरेक नागरिकको जीवनस्तर उकास्नुपर्दछ । मेरो व्यक्तिगत स्वार्थको लागि म राजनीतिमा आएको होइन । उहाँहरु र मेरो तुलना गर्न मिल्दैन । अरु नेताहरु चुनावमा पैसा खर्च गरेर आउनुहुन्छ, लगानी गर्नुहुन्छ, करोडौंको लगानी गर्नुहुन्छ । उहाँहरुको लागि व्यापार गरे जस्तो हो राजनीति । चुनाव जितिसकेपछि उहाँहरुको मुख्य ध्येय भनेकै लगानी फिर्ता गर्ने हुन्छ । म राजनीतिमा पैसा खर्च गरेर आएको पनि छैन र पैसा खर्च गरेर जितुँला भन्ने पनि छैन । त्यो नभएपछि जितेपछि पैसा कमाउँला भन्ने मेरो सपना छैन । म नेपाल नेपालीहरुको हक अधिकार सुनिश्चित गर्न, जीवन शैली उकास्न आएको हुँ ।


तपाई प्रतिनिधि सभामा उठ्नुभएको छ । जनतासँग भोट माग्न जाँदा तपाईको एजेण्डाहरु के के छन् । सरकारमा गएपछि वा प्रतिनिधि सभामा निर्वाचित भएपछि तपाई पनि अरु जस्तै विकृत हुनुहुँदैन भनेर जनतालाई कसरी सुनिश्चित गर्नुहुन्छ ?

मैले प्रतिनिधिसभा उम्मेदवारी दिंदै गर्दाखेरि मैले तीनवटा योजनाहरु अगाडि सारेको छु । अरु भन्दा म फरक कसरी, तपाईलाई विश्वास गर्ने आधार के भन्ने प्रश्नको उत्तरमा म के भन्न चाहन्छु भने मैले सिस्टमलाई विश्वास गर्दछु, म सिस्टममा फोकस छु, मैले विद्यार्थी सदन चलाएको छु । त्यसमार्फत हरेक नागरिकहरुले देशको लागि सोच्नुपर्दछ, आफ्नो क्षेत्रबाट देश र समाजको लागि योगदान दिनुपर्दछ । हरेक नागरिकको योगदानले मात्र नेपाल बन्न सक्दछ ।

हामीले सिस्टम विकास गरिदिने, प्रत्येक नागरिकहरुले देश र समाजप्रतिको दायित्व लिने, सामुहिक काम गर्ने, यसो गर्दा खेरि सफलता बोगटी वा एबीसी कसैले मात्र गर्ने भन्ने कुरा होइन, सिस्टमले गर्ने हो । सिस्टममा बाँधिइसकेपछि हरेक मानिस काम गर्न बाध्य हुन्छ । अहिले हामीहरु सिस्टममा छैनौं, छरपस्ट छौं, जसले जे मन लाग्यो, त्यही गर्ने गरेका छौं । त्यो हिसाबले हामी अनियन्त्रित छौं, हामीलाई कन्ट्रोल कसैले गरेको छैन । हामीलाई नीति नियमले बाँधेको छैन । नियम कानुन हामी आफै बनाउँछौं, आफै भत्काउँछौं । त्यो हिसाबले गर्दा अहिले सबै कुरा भद्रगोल भएको अवस्था छ ।


नागरिकहरुलाई सिस्टम र नियममा बाँधेपछि हरेक नागरिकले देशप्रति योगदान दिनेछ । हामीले बनाएको सिस्टममा कोही नेपाली नागरिक गरीब हुँदैन । कोही लगाउन र खानबाट बंचित हुँदैन । कोही पनि सेवा सुविधाबाट पाउन बंचित हुँदैन । मैले सिस्टम बनाइदिन्छु, सिस्टममा टेकेर हरेक नागरिकले योगदान दिन सक्दछन् र नागरिकको सहभागितामा नै देश विकास हुनेछ ।


अहिले धेरै जसो युवायुवतीहरुको विदेश नै जाने भन्ने मुख्य ध्येय रहेको छ । तपाईले कसरी ती विद्यार्थीहरुलाई नेपालमै रहन प्रेरित गरेर देश विकासको काममा सघाउनको लागि के सोच्नु भएको छ ?

नेपालमा युवाहरुको लागि रोजगारीको अवस्था छैन । त्यसकारण युवाहरुलाई युवाअवस्थामा केही गरौं, केही कमाउ, केही रमाउ भन्ने सोंचका साथ युवाहरुले वैदेशिक रोजगारलाई प्राथमिकतामा राखेका छन् । वैदेशिक रोजगारिमा जाँदा खेरि पनि उनीहरुले केही लगानी गरेर जान्छन् । त्यहाँ रिस्क छ, त्यहाँ हाम्रो लागि सुरक्षित ठाउँ छैन । हामी जसरी आफ्नो देशमा हक अधिकारको लागि माग गर्न सक्दछौं त्यसरी अरु देशमा चिच्याउन सक्दैनौ । त्यहाँ रिस्क छ, गाह्रो छ, सबैजना वैदेशिक रोजगारमा सफल भएका पनि छैनन् । वैदेशिक रोजगारीे विशेष गरी गल्फ देशमा जानेहरु मेशिनमा पर्ने, घाइते हुने, अंगभंग हुने, कोही मृत्यु पनि हुने अवस्था छ । त्यसैले युवाहरुले अरुको देशमा दास बन्ने मानसिकता भन्दा पनि नेपालमा नै केही लगानी गरेर हाम्रो देशमा नै केही गर्नुपर्दछ भनेर युवा शक्ति लाग्नुपर्दछ ।

हामीले अरुलाई दोष मात्र दिएर पनि हुँदैन, यो देश बनाउने जिम्मेवार हरेक नागरिकको हो । नेताले बनाइदिनुपर्दछ, अरुले बनाइदिनुपर्दछ भन्ने होइन । हामी पनि राज्यप्रति जिम्मेवार हुनुपर्दछ, देश समाजप्रति जिम्मेवार हुनुपर्दछ । वैदेशिक रोजगारमा जाने मानसिकतालाई हामीले त्याग्नुपर्दछ । हामीले देशमा केही गर्न सकेनौं भने पनि हामीले यहीं आफ्ना कुराहरु माग गर्नुपर्दछ । नेपालमा लडेर, जुधेर खानुपर्दछ । जस्तो सुकै होस् वैदेशिक रोजगारीमा जानेहरुले साना साना लगानी गरेर भएपनि नेपालमा नै बस्नुपर्दछ । नेतृत्व तहलाई पनि युवाहरुले ढक्ढक्याउनुपर्दछ । हाम्रो देशमा उद्योग धन्दा, कल कारखाना संचालन गर्नुपर्दछ र युवाहरुलाई रोजगार दिनुपर्दछ भनेर कराउनुपर्दछ । युवाहरु देशमा बस्नुपर्दछ, राज्य, सरकार, नेतृत्वकर्ताहरुलाई उहाँहरुले झक्झक्याउनुपर्दछ । हामीलाई यो देशमा बस्ने वातावरण चाहियो भनेर उनीहरुले आफ्नो हक अधिकार नेतृत्व तहसँग माग्नुपर्दछ ।


अहिले हाम्रो देशले विकास गर्न नसकेको र जनताको जीवनस्तर उकास्न नसकेको मुख्य कारण के जस्तो लाग्दछ ? नेतृत्वहरुको प्रतिबद्धतामा कमी कि भ्रष्ट राजनीतिज्ञहरु वा यसमा के भन्न चाहनुहुन्छ ?

विकास गर्न नसकेको कारण चाहिं सिस्टम नभएको कारणले हो । यहाँ नेतामात्र नभएर कर्मचारी देखि सबै भ्रष्ट छन् । यहाँ धेरैजसो व्यक्ति भ्रष्ट छन् । यहाँ नेतृत्व मात्रै भ्रष्ट भएको होइन । यहाँ सिस्टम नै भ्रष्ट छ । त्यसकारण हामी सिस्टममा बस्नुपर्दछ । यहाँ अवसर पाउँदा प्रत्येक व्यक्तिमा भ्रष्ट हुने सोंच छ, त्यही भएर देश पछाडि परेको हो । सबैजना सुध्रिनु जरुरी छ । नेता मात्र सुध्रेर हुनेवाला छैन ।


भ्रष्टहरुको समूहमा जालोमा तपाई कसरी अछुतो रहनुहुन्छ ?

मेरो गन्तव्यस्थान कहाँ हो, मैले राजनीति किन गरें भन्ने कुरा महत्वपूर्ण हुन्छ । अरुको उद्देश्य कमाउँ, सात पुस्तालाई थुपारौं भन्ने सोंच हुन्छ । उहाँहरुले कमाएको अरबौं पैसाले पनि उहाँहरुलाई सुरक्षा त दिएको छैन । जस्तै हजुरले अरबौं पैसा राख्नुभएको छ र मैले खान पाइन भने मैले हजुरलाई लुट्छु नि । किनकी एउटा खान नपाउने र अर्कोले अरबौं पैसा राख्ने । यो त अलि सुहाएन नि । नीति नियम बनाउने हो भने सबैलाई कमाउने अधिकार छ । हामीले गैरकानुनी तरिकाले अकुत सम्पत्ति कमाईराखेका छौं भने ती कमाएका ब्ल्याक मनीहरुलाई उद्योगतर्फ लगाउने, लाखौं युवाहरुलाई रोजगार दिने, नेपालमा नै कलकारखाना खोल्नलाई प्रोत्साहन गर्ने, उद्योगहरु संचालन गरेर युवाहरुलाई रोजगार दिने गर्नुपर्दछ । म पैसा कमाउने सोंचले राजनीतिमा आएको होइन । सिस्टम परिवर्तन गरेर हरेक नागरिकले उनीहरुको आर्थिक अवसर पाउनुपर्दछ, आर्थिक अवस्था सुदृढ हुनुपर्दछ, आर्थिक अवस्था समान हुनुपर्दछ । नेपालमा बसेका प्रत्येक नागरिक आर्थिक रुपले अगाडि बढ्नुपर्दछ भनेर म राजनीतिमा आएको हो । त्यसकारण मेरो व्यक्तिगत जीवनको कुरा यहाँ छैन, म कमाउनको लागि व्यक्तिगत स्वार्थको लागि आएको होइन । मलाई भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनु नि छैन, म कानुनी रुपमा नै कमाउँछु ।


चुनावमा जित्नको लागि वर्षौदेखिका खारिएका नुवाकोटका नेताहरुले साम, दाम, दण्ड, भेद जस्ता नीतिहरु अवलम्बन गर्न सक्दछन् । त्यहाँका विगतदेखिका नेताहरुमा मनी पावर र मस्सल पावर दुवै छ । यस्तोमा तपाई एक महिलाले कसरी उनीहरुसँग मुकाबिला गर्नुहुन्छ ?

यी सबै कुराहरु यो भन्दा अगाडिको चुनावमा पनि भैरहेको कुरा हो । सँधै भरि एउटै अवस्था रहन्छ भन्ने हुँदैन । जनताहरु पनि धेरै बुझ्ने भैसकेका छन् । समाज परिवर्तन र विकसित भैसकेको छ । सँधैभरि मनी, मस्सल र पावरले जित्न सकिन्छ भन्ने होइन । जनताले यो कुरा बुझ्न्ुपर्दछ । जस्तो १ महिना कसैले मासुभात दिन्छ, पेट्रोल दिन्छ भोट हाल्नुहुन्छ, अनि २ महिनापछि उहाँहरुको नैतिकताले पनि दिंदैन नि तपाईले यो काम किन गर्नु भएन भन्न ? किनकी नेताहरुले पनि तपाईले मासुभात खाएर भोट हालेको होइन भन्दछ । त्यसकारण जनताहरुले सही नेतृत्वलाई छान्न सक्नुपर्दछ । सही नेतृत्व चुन्नुहोला, कसैले पैसा खर्च गर्दछ भने लिनुहोला । मिहीनेत, पसीनाको पैसा त्यसरी फाल्न मन लाग्दैन, लुटेकै धन होला । त्यसैले कसैले धन खर्च गर्दछ भने लिनुहोला तर भोट राम्रो मान्छेलाई दिनुहोला । यदि तपाईले ५ मिनेट गरेको निर्णयले गर्दा ५ वर्ष पछुताउनुपर्दछ भने भोट हाल्ने बेलामा २०, २५ मिनेट सोंचेर भोट हाल्नुहोला । यो नेतृत्वलाई मैले चुनाव जितेपछि गाली गर्ने कि म सच्चिने, मैले अहिले अधिकार पाएको छु सही नेतृत्व छान्ने । त्यसैले हरेक नागरिकले यो ५, ५ वर्षमा पाउने अधिकारलाई सदुपयोग गर्नुहोला । निर्वाचन भनेको नै कार्य मूल्याकंन गर्ने समय पनि हो । निर्वाचनमा नयाँ नेतृत्व आउने, विकासको बाटो हेर्ने, कसले लिड गर्न सक्दछ भनेर मूल्याकंन गर्ने समय हो । अहिले जनताहरु निकै चनाखो हुनुपर्ने अवस्था छ ।


अहिले समाजमा धेरै वर्षौ वर्षदेखि खारिएका नेताहरु विद्यमान छन् । उनीहरुसँग धेरै अनुभव पनि छ । तपाई त भर्खर २७ वर्षको हुनुभयो । केही जनताहरुमा यति कम उमेरको व्यक्तिले कसरी राजनीतिमा खरो उत्रिन्छन् भनेर भन्न पनि सक्दछन्, यसमा तपाई के भन्न चाहनुहुन्छ ?

उहाँहरु खारिनुभयो, खारिएर के गर्नुभयो, भ्रष्टाचारमा खारिनुभयो होला । समाजलाई विकृति र विसंगति तर्फ डो-याउन खारिनुभयो होला । उमेर धेरै हुँदैमा सबै कुरा जानेका हुन्छन् भन्ने छैन । नत्र त ५०, ६०, ८० वर्षका नेताले देशमा शासन गर्दा सुशासन र विकास हुनुपर्ने तर त्यसो भएको छैन । जनताको जीवनस्तर खै त उच्च स्तरको भएको ? जनताको जीवनशैली खै त परिवर्तन भएको ? विज्ञान र प्रविधिले खै नेपालमा फड्को मारेको ? उमेर धेरै हुँदामा नेतृत्व गर्न सक्ने र कम हुँदा नसक्ने भन्ने हुँदैन । मलाई त के लाग्दछ भने Art is better than Experience. पुरानो पुस्ता सकिएपछि दोश्रो पुस्ता नजन्मिने त ? हाम्रो पुस्ता जन्मिइसक्यो । उहाँहरुले जति गर्नुभयो त्यसको लागि उहाँहरुलाई धेरै धेरै धन्यवाद । दोश्रो पुस्ता आइसक्यो, उहाँहरुले अब आराम गर्नुहुनेछ । उहाँहरुलाई हामी स–सम्मानका साथ विदाई गर्न चाहन्छौ । अब युवाले नेतृत्व लिन्छ ।

नुवाकोट जिल्ला पहाडी जिल्ला पनि हो, दुर्गम ठाउँहरु पनि छन् । चुनाव प्रचार प्रसार कसरी गर्नुभएको छ ?

नुवाकोट जिल्ला पहाडी जिल्ला हो, समतल भूभाग पनि केही छ । अलि अप्ठ्यारो छ । मैले क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार दिएको हो । क्षेत्र नं. १ मा सातवटा गाउँपालिका छ, पैतालिसवटा वडाहरु छन् । जहाँ एकदमै दुर्गम छ, अग्ला पहाडहरु छन् । माथि पुग्नुपर्ने धेरै उकालीहरु छन् । भौगोलिक अवस्था एकदम कठिनाई छ । त्यो हिसाबले १ महिनाको समय निकै कम हो । हामी प्रत्येक आम नागरिकहरुलाई भेटघाट गर्न सक्दैनौ । सकिएन भने चित्त नदुखाउनुहोला । उम्मेदवारलाई हामीले देखेकै छैनौ, कसरी भोट दिने भनेर नभन्नुहोला । म तपाईलाई अनुहार देखाएर भोट लिने भन्दा पनि चुनाव जितिसकेपछि कसरी विकास गर्ने, नुवाकोटको जीवनस्तर, जीवनशैली कसरी उच्च स्तरको बनाउने, विकासका पूर्वाधारहरुलाई कसरी अगाडि बढाउने भन्ने कुरामा ५ वर्षसम्म हामी हातेमालो गर्नेछौं । भौगोलिक अवस्था कठिनाई भए पनि म मतदाताकहाँ पुग्ने प्रयास गर्दछु ।
म त्यहाँका सम्पर्क व्यक्तिहरुसँग सम्पर्क समन्वय गरेर उहाँहरुले त्यहाँका गाउँका स्थानीय समुदायहरुलाई भेला गराउनुहुनेछ । त्यहाँ म आफ्नो कुराहरु राख्नेछु । त्यहाँ उहाँहरुले आफ्नो प्रश्न सोध्नुहुनेछ । उहाँहरुले मसँग जिज्ञासा पनि राख्नुहुनेछ । उहाँहरुको मनमा लागेका कुराहरु मैले सुन्नेछु, त्यसको सम्बोधन गर्नेछु । नुवाकोटको विकास कसरी गर्न सकिन्छ भनेर उहाँहरुसँग मिलेर नै अगाडि बढ्नेछु । मैले सम्भव भएसम्म धेरै भन्दा धेरै मतदाताहरुलाई भेट्ने कोशिस गर्नेछु । सकिन भने चोकमा चिया पसलमा जमघटमा उहाँहरुसँग भेटघाट गर्ने तयारी गरेको छु । केही ठाउँहरुमाा म पुगेर आइसकें । बाँकी रहेको ठाउँमा म फेरि जानेछु ।

मैले सोध्न छुटाएका र तपाईलाई भन्न मन लागेका कुराहरु छन् भने भन्नुहोस् ।

चुनाव नजिकीदै गरेको छ । मैले नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार दिएकी छु । मेरो चुनावको चिन्ह लौरो रहेको छ । नुवाकोट वासी मतदाताहरुलाई के भन्न चाहन्छु भने तपाईहरु माझ म लामो अध्ययन अनुसन्धान गरेर नेपाललाई कसरी विकसित लोकतान्त्रिक आधुनिक बनाउन सकिन्छ भनेर एउटा अध्ययन अनुसन्धान गरेर झण्डै २, साढे दुई वर्ष विद्यार्थी संसद चलाएर, विद्यार्थीलाई देश विकास गर्न यसरी सकिन्छ भनेर उनीहरुलाई तालिम दिएर म आफै पनि अरु देश किन विकास भयो र हाम्रो देशमा किन विकास हुन सकेन भन्ने कुरामा अनुसन्धान गरेर आएको हो । म सबै स्वतन्त्र आयो, स्वतन्त्रले जित्छ भनेर लहलहैमा आएको होइन । म राजनीतिमा खारिएर आएको हो । राजनीतिमा तयारीको साथ आएको हो, विकासको लागि तयारीको साथ आएको हो । मैले यसरी विकास गर्न सक्छु भनेर प्लान सहित आएको छु । मैले जितेर गर्ने काम पनि १, २, ३ बनाएर आएको छु ।


आम मतदाताहरु अब नझुक्किनुहोला, हामीले विगतमा धेरै गल्तीहरु गरिसक्यौं । अब गल्ती नगर्नुहोला, तपाईले गरेको सानो गल्तीले गर्दा देश, समाज र राष्ट्रलाई ठूलो क्षति हुन्छ । अबका दिनहरुमा पनि हामीले गलत नेतृत्वलाई प्रोत्साहन दिएर काम गर्न सक्ने सक्षम युवा पुस्तालाई अगाडि सार्न सकेनौं भने तपाई हामी फेरि चुनाव सकिएको भोलि पर्सीदेखि पछुताउनुपर्ने हुन्छ । अनि हाम्रो काम फगत नेतालाई सराप्ने, गाली गर्ने, चिच्याउने मात्र हुन्छ । तपाईको हक अधिकारको कुरा जस्ताको तस्तै हुन्छ । पाउनुपर्ने कुरा पाउनुहुन्न । तपाईलाई नेताहरुले २ महिना जति खान दिए, त्यत्तिमै सीमित हुनुहुन्छ । त्यसकारण पैसामा नबिक्नुहोला । मासुभात, रक्सी र पेट्रोलमा नबिक्नुहोला । विकास र समृद्धिसँग आफ्नो मतदान साट्नुहोला । सम्पूर्ण नुवाकोटवासी, आदरणिय आमा बुबा, दिदी बहिनीहरु मैले लौरो चिन्हबाट उम्मेदवारी दिएको छु । सबैले मलाई लौरो चिन्हमा मतदान गरेर विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएकी छु । साथसाथै चुनाव जितिसकेपछि म एउटाले विकास गर्ने भन्ने होइन, तपाईहरुको साथ, सल्लाह, सुझाव अनुसार मैले काम गर्नेछु । म नुवाकोटको विकासको लागि आएको हो । चुनाव जितेको भोलिपल्ट देखि ५ वर्षसम्म सँगै सहयात्री भएर सहयोग गर्नुपर्नेछ । ५ वर्षसम्म नुवाकोटवासी जनतासँग मिलेर म सहकार्य गर्नेछु । नुवाकोट विकासको लागि हामी हातेमालो गरेर अगाडि बढ्नेछौं । म देशको विकासको लागि अन्तर्राष्ट्रिय एजेण्डा पनि संसदमा उठाउनेछु । सम्पूर्ण नुवाकोटवासीहरुले मलाई लौरो चिन्हमा मतदान गर्नुहोला भन्न चाहन्छु ।

प्रतिकृया