‘संसारको लागि उपयोगि भएर जिउनुमा नै मानव जीवनको सार्थकता छ’ -डा. पुकार चन्द्र श्रेष्ठ (भिडियाे सहित)
प्रकाशित मिति
२०७९ आश्विन २७ गते, बिहीबार १२:४०
२७ आश्विन २०७९, काठमाडौँ: डा. पुकार श्रेष्ठ नेपालका अनुभवी र लोकप्रिय मिर्गौला प्रत्यारोपण सर्जन हुन् । उनको परिवारमा बुवा आमा, दुई दाजुहरु र दिदिहरू रहेका छन् । सामान्य परिवारमा हुर्केका उनी आफ्नो बुबा, आमा तथा दाजुहरुलाई प्रेरणाको श्रोतको रुपमा मान्दछन् । दैनिक कार्यको लागि उनी आफ्नो श्रीमतीबाट प्रेरणा मिल्ने गरेको बताउँछन् । उनले रोयल कलेज अफ एडिनबर्ग बेलायतबाट एमआरसीएस गरेका छन् । उनले वीर अस्पतालमा युके मापदण्डको नेपालमा पहिलो पटक प्रत्यारोपण सेवा स्थापना गरेका हुन् । उनले एक समर्पित सरकारी प्रत्यारोपण केन्द्र स्थापना गरेका छन् जसले नेपालमा उपचारका लागि भारत जान नसक्ने मानिसहरूको सेवा गर्दै आएको छ । त्यसैगरी, प्रत्यारोपणको विकासमा प्रमुख कोसेढुङ्गा भएको नेपालमा ब्रेन डेथ ऐन ल्याउनमा उनको महत्वपूर्ण योगदान रहेकको छ । रोगबाट बच्न सचेतना अभियानमा निकै सक्रिय रहँदै आएका आफ्नो क्षेत्रमा लागेका उनको समर्पणका कारण उनले नेपाल सरकारबाट उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र प्रज्वल जनसेवाश्रीबाट सम्मानित भइसकेका छन् । हाल उनी शहीद धर्मभक्त, राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा कार्यरत छन् । उनको धर्मभक्त प्रत्यारोपण केन्द्रमा कार्य, केन्द्रको भविष्यको योजना र विस्तार आदि सेरोफेरोमा रहेर मातृभूमिन्यूजका लागि प्रधान सम्पादक सुभाष कुँवर र सम्पादक मनोजराज रेग्मीसँग गरेको प्रत्यक्ष अन्तर्वार्ताको जीवनशैली सम्बन्धी संम्पादित अंश :
तपाईको जन्म कहाँ भयो र तपाईको बाल्यकाल कसरी कहाँ वित्यो, त्यसको बारेमा केही प्रकाश पारिदिनुहुन्छ कि ?
म बाग्लुङ बजारमा जन्मेको हुँ । मेरो जन्म भदौ ४ गते भएको हो । म जन्मिदा मेरो बुबा जागिरे हुनुहुन्थ्यो र जागिरको सिलसिलामा विभिन्न जिल्लामा जानु पर्दथ्यो । बुबासँग दशैंको बेलामा मात्र भेट हुन्थ्यो । दशैंको बेलामा छुट्टीमा गाउँठाउँमा दशैंमा पिङ खेल्नेदेखि लिएर, सानो तिनो भेला हुने, पर्व मनाइन्थ्यो । त्यस्तो विभिन्न कार्यक्रममा बुबासँग भाग लिने गरिन्थ्यो । अलि ठूलो भएपछि आफ्ना साथीभाइसँग टेबुल टेनिस खेल्ने आदि गरिन्थ्यो । पढाईको कुरा गर्ने हो भने मैले बाग्लुङको स्थानीय स्कुलमा पढें । पहिला कन्या मन्दिरमा पढें ४ कक्षा सम्म, ५ कक्षादेखि विद्या मन्दिर स्कुलमा पढें । शुरुमा म सामान्य विद्यार्थी थिएँ, पास हुने तर प्रथम, द्धितीय नहुने । दाइहरु चाहिं पढ्न तगडा, फस्र्ट, सेकेण्ड हुने, मेडल ल्याउने, तक्मा भिरेर आउने, कविताहरु वाचन गरेर प्रथम भएर तक्माहरु ल्याउने गर्नुहुन्थ्यो । दाइहरुको त्यस्तो इतिहास रहेछ । म चाहिं पास मात्र हुने, फस्र्ट, सेकेण्ड नहुने । मौका पायो भने खेल्न जाने गर्दथें । मैले खेल्ने खेलमा आफूले जानेको खेलकुदमा भाग लिने र फुटबल, भलिबल खेल्ने गर्दथे ।
त्यतिबेला म ७ कक्षामा पढ्थे, एकदिन मेरो बुवाले दशैंको बेलामा आउनुभएको बेला मेरो रिजल्ट हेर्नुभयो र भन्नुभयो, तिमी पढाईमा ठीकै ठीकै छौ, अब तिमी पढाई छोडिदेउ, अन्यथा अर्थ नलगाउ, अब व्यापार गर्ने, म तिमीलाई व्यापारमा लगाइदिन्छु । पढाई सढाई अब छोडिदेउ भन्नुभयो । त्यसपछि मलाई लाग्यो कि व्यापार गर्ने भन्ने कुरा राम्रो रहेनछ, पढाई गर्ने भन्ने कुरा राम्रो रहेछ । किनकी बुबाले पढाई गर्न नसकेपछि व्यापार गर्न पो भन्नुभयो । मलाई त्यस किसिमको अनुभूति भयो । त्यो चाहिं मेरो जीवनको टर्निङ प्वाइन्ट भयो । बुबाले जादुको छडी हानेको जस्तो भयो । मलाई आँखा खोलिदिएको जस्तो भयो । अनि म पढ्न थाले । ७ कक्षाको जाँचमा मैले राम्रो गरे । अनि ८ कक्षाको शुरुदेखि किताब भनेको मैले छोड्दै नछाड्ने, पढेको पढ्यै गर्न थाले । बुबाको त्यो वाणीले ममा व्यापक रुपान्तरण भयो । फलस्वरुप ८ कक्षामा म थर्ड भएँ । शिक्षकहरुले अरु विद्यार्थीहरुलाई तिमीहरुले नराम्रो गरिरहेका छौ तर पुकारले राम्रो गरिराखेको छ भनेर कमेन्ट गर्न थाले । होमवर्क टाइममा गर्ने, आज कुन टपिकमा पढाई हुन्छ त्यो पढेर जाने, शिक्षकले प्रश्न सोधेको बेलामा जवाफ दिने, त्यो फरक देखिन थाल्यो ममा । शिक्षकले पनि बढी मायाँ गर्न थाल्नुभयो । त्यसले गर्दा मलाई झन जोश बढ्यो । त्यसपछि ९ कक्षामा सेकेण्ड भएँ । एसएलसी दिंदा सबैले म बोर्डमै आउँछु भन्ने आशा गरेका थिए । त्यसरी दिन दुईगुना रात चौगुना प्रगति गर्दै गएँ । म अति नै पढ्ने भएँ । बिहान उठेदेखि पढ्ने, अनि स्कुल जाने, स्कुलबाट फर्केपछि फेरि पढ्ने, यस्तो कसरी भयो थाहा छैन । त्यतिबेला १० जना बोर्डमा आउने चलन थियो, मेरो १२, १४ नम्बर पुगेन बोर्डमा आउन । अनि त्यसपछि काठमाडौंमा आएँ, आइएस्सी पढें । अनि एमबीबीएस गरें ।
प्रत्येक मानिसको जीवनमा कसै न कसैको गहिरो प्रभाव परेको हुन्छ ? तपाईको जीवनमा बुबाआमा बाहेक कसको बढी प्रभाव परेको थियो ?
मैले पहिले नै भनिहाले, बुबाको प्रभाव प¥यो । आमाले मायाँ गर्ने, खान दिने, खुट्टाहरु मालिस गरिदिने, ममतामयी मायाँ आमाबाट पाएँ । तर क्यारियरमा आफ्नो वृत्ति विकासको लागि बुवाको भूमिका वर्षको २,४ दिन मात्र सँगै हुँदा पनि बुबाले मोटिभेसन गर्नुभयो । आमाले चाहिं पढे पनि ठीकै नपढे पनि ठीकै, फेरि आमालाई नराम्रो लाग्दछ । खेलेर आएपछि छोरालाई भोक लाग्यो भनेर खुवाउने, थकाइ लाग्यो भने सुताउने, आमाको त्यो रोल, तर बुबाले छोराले ठीक गरेको छ कि छैन, यसले आफ्नो समय कसरी बिताइरहेको छ, त्यससम्बन्धी सोच्ने । यसरी दुइवटाको सोंचाई मैले फरक पाएँ ।
ममाथि आमाको मातृत्व प्रेम र बुबाको मायाँको मूल्याकंन गर्ने हो भने आमाको ध्यान पालन पोषणमा बढी गयो, बुबाले मेरो छोराले भविष्यमा राम्रो गरोस्, त्यसको लागि आवश्यक कदम चाल्न पछि पर्नु भएन जसले गर्दा मेरो जीवनमा विशेष फरक प-यो । त्यसैगरी आमाले पनि आफ्नो ठाउँबाट प्रेरणा दिने काम गर्नुभयो । आमाको प्रेरणा भनेको सँधै साँचो बोल्ने, अरुसँग सकेसम्म झैझगडा नगर्ने, शान्त सुशिल प्रकारको व्यवहार सबैसँग गर्ने थियो । आमाबाट सिकेको गुणहरुको आफ्नै महत्व पक्कै पनि छ । बुवाले चाहिं जिन्दगीमा केही न केही गर्नुपर्दछ भन्ने खालको प्रेरणा दिनुहुन्थ्यो । अरु भन्दा फरक हुनुपर्दछ भन्ने बुवाको प्रेरणाले धेरै ठूलो काम ग-यो ।
त्यसैगरी मेरो दुई दाजुहरुको पनि मेरो जीवनको पथमा अगाडि बढ्न ठूलो हात छ । मैले थाहा पाउँदा दाजुहरु काठमाडौंमा आइसक्नुभएको थियो । ठूलो दाजु इन्जिनियरिङ पढ्न कलकत्ता जानुभएको थियो । उहाँ वर्षको एकचोटी छुट्टीमा आउनुहुन्थ्यो । माइलो दाजु काठमाडौंमा आइए, बीए पढिराख्नुभएको थियो । मैले एसएलसी दिंदा उहाँले ल पढिसक्नुभएको थियो । उहाँहरु दुवैजना म र मेरो पढाइको लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो । मेरो ठूलो दाजु साइन्सको स्टुडेन्ट भएकोले उहाँ छुट्टीमा आउँदा मेरो किताब हेर्ने अनि मेरो साइन्समा के छ, म्याथमा के छ भनेर सोध्ने गर्नुहुन्थ्यो । उहाँले म्याथ र साइन्सको विषयमा विभिन्न प्रश्नहरु सोध्नुहुन्थ्यो । यो साइन्सको बारेमा भन त, न्युटन ल भन त भनेर भन्नुहुन्थ्यो । उहाँले सोधेपछि म भन्न बाध्य हुन्थे, पढेको छैन भने नरमाइलो लाग्ने हुन्थ्यो । जानेपछि राम्रो लाग्ने भयो, नजानेको र नबुझेको कुरा दाइले नै बुझाउनु हुन्थ्यो । त्यो हिसाबले हेर्ने हो भने म भाग्यमानी पनि हो । बुबा र आमाको साथसाथै दुईजना दाजुहरुले आफूले जानेको कुराहरु सिकाउनुहुन्थ्यो । माइलो दाजुले पछि म ठूलो भैसकेपछि मेरो क्यारियरमा ठूलो मद्दत गर्नुभयो । मेरो मेडिकल पढाईमा, त्यसपछि सरकारी जागिर खाँदा, माइलो दाजुको असीम योगदान छ भने ठूलो दाजुले मेरो साइन्सको पढाइमा, म्याथको पढाईमा निकै तिखार्नु भयो । त्यसको असर मैले आइएस्सीमा राम्रो गरे, मैले मेडिकलमा राम्रो गरें । एउटा विशेषज्ञ डा. हुँदा एउटा जग राम्रो भयो भने सँधै भरि त्यसले फाइदा पुग्दछ । अहिले साइन्सको कुरा कसैले सोध्यो भने मैले अहिले पनि भन्न सक्छु । किनभने मेरो जगमा मेरो मिहिनेत परेको छ । मेरो जीवनको इतिहास हेर्ने हो भने मेरो बुबा, आमा र दाजुहरुको ठूलो भूमिका छ । मेरो दिदिहरु पनि हुनुहुन्थ्यो, दिदिहरु त साथीहरु जस्तै मसँगै खेल्ने, मलाई भाइ भनेर मायाँ गर्ने हुनुहुन्थ्यो ।
तपाईलाई डाक्टर नै बन्नुपर्दछ भन्ने प्रेरणा कसरी र किन आयो ? डाक्टर बन्नु पछाडिको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
म सानो हुँदा म पाइलट बन्ने भन्थें रे । जब विस्तारै बुझ्दै गएँ, पाइलट भनेको छोटो ट्रेनिङ, त्यसमा डाक्टरको जस्तो धेरै सेवाको भावना छैन कि जस्तो लाग्यो । घरमा एकजना इन्जिनियर, एकजना वकिल बनिसकेको हुनाले मलाई एकजना डाक्टर बन्नुपर्दछ भन्ने भावना आयो । फरक बन्नुपर्दछ भन्ने सोंचाई त्यसरी आएको हो । त्यसैको लागि नै मैले पढाई पनि गरें, मौका पनि पाएँ, अनि डाक्टर भएँ ।
अहिले तपाईंको जीवन निकै व्यस्त छ । अहिलेको तपाईंको जीवनको टाइम टेबुल भनौं वा प्रत्येक दिनका गतिविधिहरु कसरी बितिरहेका छन् । यस बारे केही भनिदिनुहुन्छ कि ?
म व्यस्त हुनको लागि व्यस्त भएको होइन, मेरो व्यक्तिगत फाइदाको लागि म व्यस्त भएको पनि हैन तर मेरो दैनिक जीवनको समयतालिका हेर्ने हो भने म व्यस्त छु । बिहान ६ बजेतिर उठ्छु, अनि श्रीमती र मेरो कुरा हुन्छ, आजको प्लान के के छ भनेर । मेरो श्रीमती युएनको जागिरे, म भन्दा बढी उसले विदेशी ज्ञान लिएको छ । अमेरिका र बेलायतमा पढेको हो । बैंककबाट एमबीए गरेको हो । उनको अन्तर्राष्ट्रिय शिक्षाले मलाई धेरै नै घच्घच्याउँछ । उनीसँग अफ्रिका तथा एशियाको विभिन्न देशहरुमा काम गरेको अनुभव छ । उनको अनुभवले मलाई प्रेरणा दिन्छ । आज तिमी के के गर्ने भनेर सोध्ने, तिम्रो आजको प्लान के हो भनेर सोध्ने, यस्तो भद्रगोल गर्ने हो भनेर मलाई प्रेरणा दिने, त्यसरी एउटा सिस्टममा जान मद्दत गर्ने, मेरो काममा पनि उनले गहन इच्छा दिएर सुन्ने र सल्लाह दिने गर्दछिन् । हामी बिहान उठेपछि व्यवसायिक कुरा गर्दा गर्दै बिहानको समय बित्दछ । केही समय म सरकारी अस्पतालमा आउन नचाहने बिरामीलाई समय दिन्छु । अनि त्यसपछि म यहाँ आउँछु । यहाँ आएपछि म सबैभन्दा पहिला राउण्ड गर्दछु, बिरामीको परिवारलाई काउन्सिलिङ गर्दछु । बिरामीको बारेमा सबै जानकारी गराउँछु । त्यसपछि प्रत्यारोपण अप्रेसन गर्दछु, कहिले एउटा र कहिले ४ वटा सम्म हुन्छ । सो काम गर्न हाम्रो एउटा टोली छ, मुख्य कार्य म गर्दछु ।
त्यसपछि बिरामीलाई काउन्सिलिङ आदि काम गरेपछि म प्रशासनको काम हेर्दछु । यो अस्पतालमा मेरो प्रशासनको काम पनि हेर्ने जिम्मेवारी छ । प्रशासनको काम नसकिएसम्म ६ देखि ८ बजेसम्म यो काम गर्दछु । प्रशासनको टिम धैर्यतापूर्वक काम नसकिएसम्म बसिदिनुहुन्छ । ती काम सकिसकेपछि मात्रै म घर जान्छु । बिहान उठेदेखि बेलुका सम्म अधिकांश समय यही पेशाको लागि व्यतित गर्दछु । कहिले ब्रेन डेथ सम्बन्धी प्रत्यारोपण, कहिले कलेजो प्रत्यारोपण, कहिले गाह्रो खालको मृगौला प्रत्यारोपण, कहिले रक्तदान सम्बन्धी जनचेतना अभियान, भेटघाट, अन्र्तक्रिया भन्दै वर्षौ यसरी नै बितेको छ ।
तपाईको जीवन शैलीबाट अरुहरुले प्रेरणा लिन सक्दछन् । त्यसैले जिन्दगीमा के गर्यो भने आत्म सन्तुष्टि पाइन्छ र तपाईंको विचारमा कसरी जीवन बितायो भने जीवन सार्थक हुन्छ जस्तो लाग्दछ ?
हामीले सक्रिय जीवन बिताउनुपर्दछ । मलाई कस्तो लाग्दछ भने हामीहरु आराम गर्ने, रमाइलो गर्ने त्यो आवश्यक छ दिमागलाई फ्रेश राख्नुपर्यो, शरीरलाई चाहिने मिठो खाना पनि खानु पर्यो । जति तपाई सक्रिय जीवन बिताउनु हुन्छ त्यति तपाईलाई काम गर्ने जोश आउँछ । तपाईको रिजल्ट उति राम्रो हुन्छ । तपाईले त्यसमा धेरै मिहीनेत र चिन्तन गरेपछि परिणाम राम्रो आउँछ । तपाईको कामको परिणाम राम्रो भएपछि तपाईलाई अझ प्रोत्साहन मिल्दछ । तपाईलाई स्यावासी मिल्दछ, सबैले धन्यवाद दिन्छन् । यो साइकल चलिरहन्छ । शरीर पनि स्फूर्ति रहन्छ । सबैको नजरमा तपाईले स्यावासी पाउनुभयो भने मेरो विचारमा त्यो नै सबैभन्दा ठूलो सन्तोष हो । आज मैले राम्रो काम गरें, आजको मेरो दिन उपयोगि रह्यो । आजको दिन मैले खेर जान दिइन भन्ने महशुस तपाईलाई भयो भने तपाईको दिन सार्थक बनेको मानिन्छ । घर फर्किदा तपाईले घरमा गएर कहिले मिठो खाना होला, कहिले नमिठो होला, जेसुकै खानुस्, तपाईले भोको पेटमा मिठो सँग खाना खानुहुन्छ, र मिठो निद्रामा पर्नुहुन्छ । बिहान फे्रश हुनुहुन्छ । मेरो जीवनशैलीबाट म पूर्ण सन्तुष्ट छु र सबै दाजुभाई दिदीबहिनीलाई पनि व्यस्त रहन सल्लाह दिन्छु । सफलता त्यसमा छ र संसारको लागि उपयोगि भएर जिउनुमा मानव जीवनको सार्थकता हुन्छ ।
तपाईको परिवारमा को कति सदस्यहरु हुनुहुन्छ ? त्यसबारे प्रकाश पार्नुहोस् ।
मेरो आमाबुबा हुनुहुन्छ । ९२ वर्षको बुबा हुनुहुन्छ र ८० वर्षको आमा हुनुहुन्छ । उहाँहरु आफ्नो उमेरको हिसाबले स्वस्थ हुनुहुन्छ । अलि अलि रोगहरु त छ । बुबालाई ब्लड प्रेसर, डायबिटिज छ । आमालाई प्रेसर छ, अरु केही रोग छैन । खानपीन, हिडडुल सबै गर्न सक्नुहुन्छ । हामीहरु मसँग गरेर तीनजना दाजुभाइ हौं । दिदि बहिनीहरु ३ जना छौं । मेरो २ जना छोरीहरु छन् । ठूलो छोरी अहिले पीएचडी गर्दैछिन्, सानो छोरी ब्याचलर गर्दैछिन् र उनीहरु दुवैजना अमेरिकामा छन् । मेरो श्रीमती युएनको जागिरे हो । अहिले वल्र्ड बैंकको कल्सल्टेन्सी गर्दैछ ।
शिक्षा दिक्षा कुन कुन कलेज र देशहरुमा भयो ? कुन कुन डिग्री हासिल गर्नुभयो ?
मेरो प्रारम्भिक शिक्षा बाग्लुङबाट भएको हो । पहिला कन्या मन्दिरमा पढें र पछि बालमन्दिरमा पढें । अनि अमृत कलेजमा आइएस्सी पढ्न आएँ ।
एमबीबीएस गर्न छात्रवृत्तिमा बंगलादेश गएँ । अनि त्यसपछि मास्टर्स नेपालबाटै गरे । बेलायतबाट प्रत्यारोपण सम्बन्धी ६ वर्षको तालिम लिएँ ।
तपाईले कुन कुन ठाउँमा कार्य गर्नुभयो, यसबारेमा केही प्रकाश पार्नुहुन्छ ?
शुरुमा मेडिकल अफिसर हुँदा थोरै समय वीर अस्पताल, टिचीङ अस्पताल त्यसपछि बुटवलको लुम्बिनी अंचल अस्पतालमा काम गरें । त्यसपछि एमएस गरेपछि पाटनमा सर्जिकल रजिष्ट्रर भएर काम गरे । त्यसपछि बुटवलमै
लुम्बिनी अंचल अस्पतालमा जनरल सर्जन भएर काम गरे । त्यहाँ २ वर्ष काम गरेपछि बेलायतमा तालिम लिन गएको हो । बेलायतमा ६ वर्ष रहेर पढेपछि फर्के । त्यसपछि नेपालमा वीर अस्पतालमा मृगौला प्रत्यारोपण शुरु गरें । त्यसपछि शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले मलाई जिम्मा दियो । यो २०१२ मा स्थापना गरें । यो स्थापना गरिसकेपछि हामीले ९३२ जनाको मृगौला प्रत्यारोपण गरिसक्यौं । त्यो भन्दा पहिले वीर अस्पतालमा ९९ जनाको मृगौला प्रत्यारोपण गर्यौं । हामीले पोखरामा मृगौला प्रत्यारोपण शुरु गरेका छौं । सुर्खेतमा पनि हामीले मृगौला प्रत्यारोपणको लागि तयारी भैरहेको छ । त्यसपछि धनगढीमा पनि सम्झौता भएको छ हालसालै । अब विस्तारै पूर्वमा कोशि अस्पताल, २ नं.को कुन चाहिं अस्पताल हुन्छ हामी हेर्दैछौं । अनि ५ नं. प्रदेशमा बुटवलको लुम्बिनी अंचल अस्पतालमा प्रत्यारोपण गर्ने तयारी छ ।
रिटायर्ड भएपछि के गरेर दिन बिताउने सोंच्नुभएको छ ?
हाम्रो चिकित्सकीय पेसा हो । हाम्रो शरीरले दिएसम्म हामी आफ्नो सेवामा लाग्नै पर्दछ । यो सीप जुन हासिल गर्यौं, त्यो विशुद्ध दाजुभाई दिदिबहिनीको ज्यान बचाउनको लागि हो । हामीले सकेसम्म सेवा गर्नुपर्दछ ।
डा. अनिशासँगको विवाद वास्तवमा के भएको हो ? यसमा प्रकाश पारिदिनु हुन अनुरोध गर्दछ् ।
यस सम्बन्धका सबै समाचार संचार माध्यममा आइसकेको छ । त्यसलाई आधार मानेर जानकारी गराइदिनुहोला । उहाँले विभिन्न संचार माध्यम तथा स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिलमा गएर मेरो विरुद्ध उजरी गर्नुभयो । त्यसैगरी महिला सेलमा गएर उजुरी गर्नुभयो, त्यसको बारेमा हामीले स्पष्ट पारेका छौं । कतिको भ्रामक छ भन्ने कुरा जानकारी गरायौं । त्यसका बाबजुद पनि उहाँका अरु कार्यहरु बाहिर आएको छ । गाडी कोरिदिने कुरा आएको छ । अस्पतालको अरु उपकरणमा पनि क्षति पुगेको मैले थाहा पाएको छ । के उहाँलाई मानसिक समस्या थियो कि भन्ने प्रश्नमा उनी भन्दछन् त्यो मैले भन्न मिलेन । विशेषज्ञले भन्ने कुरा हो । त्रासको वातावरण छ अस्पतालमा । अपरेशन थिएटरमा कसरी काम गर्ने भनेर त्रास छ ।
अहिले डा. को पढाई निकै महँगो छ र निर्धन विद्यार्थीले यो पढ्न सम्भव छैन । जेहेन्दार तर निर्धनका बाबजुद पनि डाक्टर हुन मन भएका विद्य्रार्थीहरुलाई के भन्न चाहनुहुन्छ ?
अहिले सरकारले चिकीत्सा शिक्षा एमबीबीएसमा केही सीट निशुल्क पनि गरेको छ । त्यसैगरी पोस्ट ग्रयाजुएट लेभलमा पनि निशुल्क गरेको छ । सरकारले यस क्षेत्रमा धेरै लगानी गरेको छ । सरकारी जागिर खानेलाई उनीहरुको वृत्ति विकासको लागि उच्च अध्ययनको लागि सीट पनि बढाएको छ । शुल्क पनि घटाएको छ । त्यसैले सक्षम विद्यार्थीहरुलाई यो अवसर प्रशस्त मात्रामा छ । तर पनि अवसर लिनेहरु इमान्दारितापूर्वक देशको सेवा गरिदिए हुन्थ्यो । तर अवसर लिने र विदेशीने पनि धेरै संख्यामा देखिएको छ । सरकारी कोटामा पढ्ने र विदेशीने जस्तो प्रवृत्ति देखिएको छ जुन राम्रो होइन । सरकारी कोटामा पढ्नेले देशमा केही समय कम्तीमा पनि केही वर्ष सेवा गनुपर्यो, सकेसम्म सबैले आफ्नो देशमा सेवा गर्नुपर्यो ।
छुटेका कुराहरु भए भनिदिनुहोस
अंगदान सम्बन्धी विज्ञापन हुन प-यो, यसको व्यापक प्रचार प्रसार हुनुप-यो । कोकको विज्ञापन गल्ली गल्ली हुने कुना काप्चा, गाउँ शहर हुने, अंगदान भनेको कोक भन्दा धेरै ठूलो कुरा हो । यो दाँज्न पनि मिल्दैन । यो किन यति गाह्रो यसमा मेरो गुनासो छ । स्वस्थ व्यक्तिले त दिएन, मस्तिष्क मृत्यु भएपछि खरानी भएर जाने, गाडेर जाने अंग पनि दिन नचाहने । बरु घाटै लैजान्छु भन्नुहुन्छ आफन्तहरु । यसमा मेरो गुनासो छ, कृपया यो भन्दा ठूलो दान र पूण्य काम अरु केही हुन सक्दैन । हामीहरु जाँदा जाँदै पनि अरुको लागि उपयोगि हुन सक्ने, अरुलाई पुर्नजीवन दिने, ज्यान बचाउन सक्ने, काम गर्न पाउँछौं भने एक पैसा पनि नलाग्ने त्यस्तो काम किन नगर्ने? यो काम चाहिं तपाईको मिडिया मार्फत एकदम व्यापक सबैकहाँ पुर्याइदिनुहोला ताकि नेपाली दाजुभाइ दिदि बहिनीहरु अंग फेल भएको कारणले ज्यान गुमाउनु नपरोस् ।
प्रतिकृया