पोखराको मनिपाल मेडिकल कलेज बिक्री, कसले किन्यो ?
प्रकाशित मिति
२०७८ भाद्र १० गते, बिहीबार ११:२५
१० भाद्र, २०७८ काठमाडौँ : पोखराको मणिपाल मेडिकल कलेज बिक्री भएको छ। पोखराकै व्यवसायी आनन्द राज बतास र नारायण पौडेलले दुई अर्ब रुपैयामा यो खरिद गरेको स्रोतले बताएको छ। बतासको बतास अर्गनाइजेशन र पौडेलको अटोवेज ग्रुपले कुल तीन अर्ब २२ करोड ६० लाख रुपैयाँमा यो मेडिकल कलेज खरिद गर्न लागेका हुन्। जसमा बतासको ६० प्रतिशत र पौडेलको ४० प्रतिशत लगानी हुने जनाइएको छ।
कलेजको आफ्नै ४० रोपनी जग्गा छ। मेडिकल कलेजको करिब एक अर्ब दायित्वसमेत तिरिदिने गरी दुई व्यवसायीले संयुक्त रुपमा खरिद गरेको बुझिएको छ। शुक्रबार भर्चुअल माध्यमबाट सेयर खरीद सम्झौता (एसपीए) हुँदैछ।
१८ अक्टोबर १९९२ मा नेपाल सरकारसँग मेडिकल कलेज स्थापनाका लागि सम्झौता गरेर त्यसको दुई वर्षपछि संचालनमा आएको यस मेडिकल कलेजको ४० रोपनी आफ्नै स्वामित्वको जमिनबाहेक थप १०० रोपनी लिजमा लिएर ७५० शय्याको अस्पताल समेत संचालन गरेको छ। यसको भौतिक संरचनाहरुमध्ये भवन मात्र १० लाख वर्गफीट बिल्टअप एरियाको रहेको छ।
अस्पताल र मेडिकल कलेज दुवै गरी यसमा कुल ११०० जना कार्यरत छन्। मेडिकल कलेजसँग वार्षिक एक सय जनालाई एमबीबीएस पढाउने अनुमति छ।
मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ। यो दायित्वसमेत सकारेर बतास र पौडेलले करिब सवा तीन अर्ब रुपैयाँमा यो खरिद गर्न लागेका हुन्। स्रोतका अनुसार, यसमा लक्ष्मी बैंकले फाइनान्सिङ गर्दै छ।






प्रतिकृया