• २ असोज २०८३, शुक्रबार
  • ४ः४४ बेलुका

माधव नेपालतिर जबजको विपक्षमा उभिएका मानिस मात्रैः बडाल

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ११:२५

१० भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका नेता केशव बडाल माधव नेपालको पार्टीमा जनताको बहुदलीय जनवाद (जबज) को विपक्षमा उभिएका मानिसमात्रै रहेको आरोप लगाएका छन् । केपी ओलीको राष्ट्रिय स्वाधीनताको लाइन मन नपराउनेहरु पार्टीबाट चोइटिएको पनि बताए ।

National Life

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता बडालले भने, “कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत ठाउँ समेटिएको चुच्चे नक्सा पास भएपछि अध्यक्ष ओलीलाई हटाउन प्रचण्ड, माधव, झलनाथ र बामदेव लागेको सबैलाई थाहा छ । चीनसँग पारवहन सन्धि गरेपछि पनि एकथरी ओलीलाई पन्छाउन लागेकै हुन् । ओलीले राष्ट्रिय स्वाधीनताको लाइन लिँदा तिलमिलाएको समूह चोइटिएको हो । यसबारे जानकारी नभएका, अलमिलएका कतिपय इमानदार साथीहरुलाई म पार्टीमै फर्कन आग्रह गर्छु ।”


माधव नेपालको पार्टी सिद्धान्त, दर्शन, कार्यनीतिका हिसाबले असफल हुने उनले ठोकुवा गरे । एमाले विभाजनको दोषी को हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता बडालले भने, “तपाईंले एमाले विभाजनको दोषीबारे सोधिरहनुपर्दैनथ्यो । दोषी माधव नेपाल नै हुन् । म त मनोविज्ञान पनि बुझ्छु । माधव कमरेड चरम इगोइस्ट हो । सिनियर भएको दम्भ र इगोले कहीँ पुगिँदैन ।”

Classic Tech Mobile
Classic Tech Desktop

उनले थपे, “३८ वर्ष केन्द्रीय कमिटीमा बसेको मेरो अनुभवले के बताउँछ भने २०३२ मा कोअर्डिनेसन केन्द्र बन्दा, २०३५ मा सीपी मैनाली नेकपा मालेका महासचिव हुँदा, त्यसपछि झलनाथ खनाल महासचिव हुँदा माधव नेपालकै हातमा पार्टीको तालासाँचो थियो । मदन भण्डारीको पालामा उहाँले तालासाँचो पाउनुभएन । त्यसैले मदन भण्डारीलाई मान्नुभएन । केपी ओली अध्यक्ष भएपछि पनि तालोसाँचो पाउनुभएन । ओली उहाँले उठ्, बस् भन्दा नमान्ने भएकाले पार्टी चोइटाउनु भयो । अहिले उहाँको पार्टीमा लागेका झलनाथ जबजलाई दक्ष प्रजापतिको टाउको भन्नुहुन्थ्यो । जबजको विपक्षमा उभिएका मानिसमात्र नयाँ पार्टीमा लागेका छन् ।”


बडालले दसौं महाधिवेशनमा कसले नेतृत्व लिने भन्ने कुरा व्यक्तिले तय गर्न नहुने पनि औंल्याए । उनले भने, “विधि र प्रक्रियालाई लात हान्ने काम कसैले गर्नुहुँदैन । कसलाई नेता बनाउने भन्ने कुरा महाधिवेशनले तय गर्छ । प्रतिनिधिले जे भन्छन्, त्यही हुन्छ ।”

प्रतिकृया