५३ औं वर्षमा बीमा समिति : यस्तो छ बीमा क्षेत्रको इतिहास र वर्तमान, कुनै पनि औपचारिक कार्यक्रम नगर्ने
प्रकाशित मिति
२०७८ जेष्ठ १ गते, शनिबार १०:३९
महामारीबीच बीमा क्षेत्रमा उच्च सुधार : जीवनबीमाको कारोबार ५१५ ले बढ्यो, निर्जीवन बीमाको वृद्धि १७५
काठमाडौं : बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति ५३ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२५ साल जेठ १ गते स्थापना भएको समितिले शनिबारदेखि ५२ औं वर्ष पूरा गरेको हो । स्थापना हुँदा अर्थ मन्त्रालय अन्तर्गतको एउटा निकायको रुपमा रहेको बीमा समितिले बीमा ऐन २०४९ आएपछि स्वायत्त नियमनकारी निकायको मान्यता पाएको थियो । अहिले बीमा समितिलाई अझै शक्तिशाली बीमा प्राधिकरण बनाउने विधेयक संघीय संसदमा विचाराधिन अवस्थामा छ ।

नेपालमा बीमा क्षेत्रको औपचारिक सुरुवात भने सन् २००४ मा भएको हो । नेपाल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सोर्ट कम्पनी लिमिटेडको नामबाट पहिलोपटक निर्जीवन बीमा कम्पनीको कारोबार सुरु भएको थियो । वि.सं. २०१२ मा नेपालमा भारतको ओरेन्टल इन्स्योरेन्सले नेपालमा शाखा स्थापना गरी इन्स्योरेन्स कम्पनीको औपचारिक कारोबार सुरु गरेके थियो । सो कम्पनी अहिले पनि भारतीय कम्पनीको शाखाकै रुपमा क्रियाशील छ ।

२०२४ सालमा बीमा समिति स्थापना भएपछि २०२५ सालमा पहिलोपटक राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो । सो संस्थानले २०३० सालदेखि औपचारिक रुपमा जीवनबीमा पोलिसीको कारोबार गर्न थालेको थियो । २०३० सालमै भारतको नेशनल इन्स्योरेन्स कम्पनीले पनि निर्जीवन बीमा कम्पनीको रुपमा कारोबार सुरु गरको थियो । २०४६ सालको जनआन्दोलन भन्दा अगाडि निजी क्षेत्रको पहिलो बीमा कम्पनीको रुपमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स स्थापना भयो । यो कम्पनी अहिले नेशनल लाइफको नामबाट कारोबार भइरहेको छ भने निर्जीवन बीमा कारोबारका लागि लुम्बिनी जनरल इन्स्योरेन्स स्थापना भएको छ ।
नेपालमा प्रजातन्त्र प्राप्तिपछि भने बीमा क्षेत्रको विकासका लागि विभिन्न काम भएका थिए । त्यसैको परिणामस्वरुस वि।सं। २०४९ मा बीमा ऐन आएपछि नयाँ बीमा कम्पनीको स्थापना हुन थालेको हो ।अहिले बीमा क्षेत्रमा १९ वटा जीवनबीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा निर्जीवन बीमा कम्पनीसहितको क्षेत्र बनेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कुल जनसंख्याको २६.२३ प्रतिशत जनताले बीमा सेवा उपयोग गरेको बीमा मितिको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा संकलित खुद बीमाशुल्क अर्थतन्त्रको ३.२१ प्रतिशत रहेको समितिले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म यो ३.७५ प्रतिशत पुर्याउने समितिको अनुमान छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म १९ वटा जीवनबीमा कम्पनीले ७६ लाख ६१ हजार ३ सय ५० वटा बीमालेख बिक्रीमार्फत् ९३ अर्ब ८६ करोड बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ५१ प्रतिशत बढी हो ।निर्जीवन बीमा कम्पनीतर्फ चैत मसान्तसम्म २२ लाख ४४ हजार बीमालेख बिक्रीमार्फत् २३ अर्ब बराबरको बीमाशुल्क संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब १७ प्रतिशत बढी हो ।
नेपाली कम्पनीले यो वर्ष पुनर्बीमा शुल्कबापत १५ अर्ब ९ करोड रुपैयाँ दर्च गरेका छन् । योमध्ये जीवन बीमा तर्फबाट १ अर्ब १२ करोड र निर्जीवन बीमा कम्पनीको तर्फबाट १३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये नेपाल पुनर्बीमा कम्पनीले ७ अर्ब २१ करोडको बीमाशुल्क संकलन गरेको छ । अहिले ४० वटा बीमा कम्पनीको देशभर २ हजार ९ सय २२ शाखा सञ्चालनमा रहेको र करिब १० हजार कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको समितिको तथ्यांक छ । त्यस्तै, करिब ५ लाख बीमा अभिकर्ता र ४ सय १ जना बीमा सर्भेयर यो क्षेत्रमा क्रियाशील रहेको जनाइएको छ ।




प्रतिकृया