• 10:20 pm

सिटिजन लाइफ इन्स्योरेन्स बीमा कोष १३८.८८ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार ०६:१९

काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कोषमा १३८.८८ प्रतिशतले वृद्धि  गर्न सफल भएको छ ।कोरोनाको बाबजुद पनि आफ्नो जीवन बीमा कोष १३८.८८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चैत मसान्तसम्मको अवधिमा अपरिस्कृत वित्तिय विवरण अनुसार हाल कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब एक करोड रुपैयाँ रहेको  कम्पनीले सार्वजनिक गरेको छ ।

 

एक वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार एक अर्ब ७५ करोड रुपैयाँ अर्थात १३८.८८ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो चैत मसान्तमा यस्तो कोषमा जम्मा एक अर्ब २६ करोड रुपैयाँ मात्रै थियो । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको आकार वृद्धिलाई सबै भन्दा राम्रो सूचक मानिन्छ ।

२०७७ चैत मसान्तअवधिमा २ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीले जनाएको छ ।  २०७६ चैत मसान्तमा कम्पनीको  बीमा शुल्क भने जम्मा एक अर्ब १६ करोड रुपैयाँ थियो । एक वर्षको अवधीमा सिटिजनले बीमा शुल्क एक अर्ब २८ करोड अर्थात ११०।३४ प्रतिशतले बढाउन सफल भएको कम्पनीको भनाई छ । कुल बीमा शुल्क भने ६ अर्ब २ करोड रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।

 

सिटिजनको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । केहि समयभित्र कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी पनि अघि बढाएको छ । कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ३ अर्ब ८३ करोड रुपैयाँ लगाएको छ । सिटिजनको नाफा १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ, यद्यपी यो नाफा बीमांकीय मूल्यांकन अघिको हो ।सिटिजनले हालसम्म एक लाख ९३ हजार ९ सय ७६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले प्रति वर्ष प्रति हजार न्युनतम २५ देखि ७५ रुपैयाँसम्मको अन्तरिम बोनस दर निर्धारण गरेको छ ।

प्रतिकृया