माधव नेपालसँग सिंहदरबारमा पौडेल र नेम्वाङको छलफल उपलब्धीमूलक भएन
प्रकाशित मिति
२०७८ बैशाख २६ गते, आईतवार ०४:४०
काठमाडौँ : सिंहदरबारमा माधव नेपालसँग छलफल गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई पुगेका थिए । खनाल नेपाल पक्षले सामुहिक राजीनामाको तयारी गरेर सिंहदरबार भेला भइरहेका बेला ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको सामूहिक राजीनामा रोक्न वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि दुई नेता सिंहदरबार पठाएका थिए । अहिले संसद सचिवालयमा नेता नेपालसँग पौडेल र नेम्वाङले वार्ता गरिरहेका छन् । छलफलमा पौडेल र नेम्वाङले राजीनामा रोक्न आग्रह गरेको बुझिएको छ ।

सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको हलमा ओलीका प्रतिनिधि बिष्णु पौडेल र सुवास नेम्वाङसँग नेता नेपालले संक्षिप्त छलफल गरेका थिए । ओली र नेपालबीच टेलिफोनमा कुराकानीपछि वार्ताका लागि पौडेल र नेम्वाङलाई खटाइएको थियो । वार्ताको विषयमा नेपालले कुनै प्रतिक्रिया दिन मानेनन् ।
नेम्वाङले भने फेरि पनि आवश्यकता अनुसार ओली र नेपालकै तहमा वार्ता हुनसक्ने बताए । वार्तामा पौडेल र नेम्वाङले राजीनामाको बारेमा र माधव पक्षले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा चासो राखेका थिए । वार्तापछि पौडेलले राजीनामा कुरा नआएको बताए ।
पौडेल र नेम्वाङसँगको वार्ता लगत्तै माधव पक्षका सांसदहरूको बैठक सिंहदरवारमा चलिरहेको छ । वार्ता उपलब्धीमूलक हुन नसकेको नेपाल निकट स्रोतले जनाएको छ । ओलीले विश्वासको मत लिने समय नजिकिएसँगै एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ ।




प्रतिकृया