फेरिंदै आन्तरिक पर्यटनका गन्तव्य
प्रकाशित मिति
२०७७ फाल्गुन २२ गते, शनिबार १२:२८
बागलुङ: नेपाल शिक्षक संघले आफ्ना पालिका स्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्ने जस्ता पर्यटकीय क्षेत्र रोज्यो ।राष्ट्रिय युवा संघ र नेपाल तरुण दलका भेला जैमिनीकै हाँडीकोटमा सम्पन्न भए । समाजलाई शिक्षा दिने शिक्षक र आन्दोलनको उर्जाको रुपमा चिनिने युवाहरुका भेलाले पर्यटकीय क्षेत्रको प्रचार भएको छ ।
सदरमुकामकै अमर आदर्श माविको शैक्षिक भ्रमण टोलीले यो वर्ष ढोरपाटन प्रमुख गन्तव्य बनाए । गलकोट दरबार र टेउवास्थित अन्तराष्ट्रिय मुर्तिकला केन्द्र र गाइघाट झरना पुगेर उनीहरुले भ्रमण सम्पन्न गरे । गलकोट र जैमिनीसहित बलेवा क्षेत्रका विद्यालयले बागलुङ कालिका र पञ्चकोटमा शैक्षिक भ्रमण गराए । सदरमुकामको बुद्धबिहार संचालक र ओशो अभियानका अगुवाहरु मिलेर गलकोट नगरपालिका–११ को रिघा गुम्बा घुम्न गए ।

यी सबै गतिविधिले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अभियान चलेको प्रष्ट हुन्छ ।‘पहिला हामी पोखराको फेवाताल हेर्न भ्रमण गथ्र्यौ, अहिले कालिका र पञ्चकोट हेर्न पोखराका धेरै मानिस आउन थालेका छन्’ बागलुङ पर्यटन समितिका अध्यक्ष राजु खड्काले भने, ‘हाम्रा क्षेत्र पनि पर्यटक आर्कषण गर्न सक्नेछन् भन्ने देखाउन पायौं ।’विदेशी पर्यटक नेपालमा आउने क्रम अझै सुरु भएको छैन ।

यो अबधिमा आन्तरिक पर्यटक बढीभन्दा बढी भित्राउन उनीहरु पुग्दा स्थानीय होमस्टे र पर्यटकीय क्षेत्रको प्रचारसमेत भएको छ । युवा तरुणहरुले भेला गर्दा गाउँका साना चिया पसलको पनि व्यवसाय बढ्ने र होमस्टेको प्रवद्र्धन भएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले बताए ।
कोरोना संक्रमण हटेको र लकडाउन खुला भएको अवसरमा अघिल्लो महिना होटल संघ बागलुङले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बागलुङदेखि ढोरपाटन, गाइघाट, घुम्टे लगायतका स्थानमा मोटरसाइकल यात्रासमेत गरायो । तत्काल बिदेशी पर्यटक नआउने अवस्था भएकोले जिल्लाभित्रै घुम्ने संस्कृतिको विकास गरिएको अध्यक्ष निलेस राजभण्डारीले बताए ।
‘गाउँघरकै वातावरणमा घुम्न पाइने, अर्गानिक खाना र ग्रामीण बस्तीलाई प्रवद्र्धन गर्ने लक्ष्यमा साथ दियौं’ राजभण्डारीले भने, ‘व्यवसाय बढाउने नयाँ तरिका पनि बनायौं ।’ जिल्लाभित्रका गन्तव्य बढाउन र प्रचार गर्न बागलुङ पर्यटन समितिले प्याकेजका कार्यक्रमसमेत बनाएको छ ।




प्रतिकृया