अष्ट्रेलियामा नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु
प्रकाशित मिति
२०७६ फाल्गुन २२ गते, बिहीबार ११:१५
एजेन्सी । अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।
क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भेटाएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए ।

निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए। उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थीए । अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिए ।

घटनाबारे जानकारी पाएलगत्तै क्विन्सल्यान्डका एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरेका थिए ।‘हामी आफन्त र परिवारसँग सम्पर्कमा आईसकेका छौं, आवश्यक सबै सहायता उपलब्ध गराउनेछौं,’ खड्काले भने ।




प्रतिकृया